शालिनको एकछिनमा पशुपतिमा दाहसँस्कार

शालिनको एकछिनमा पशुपतिमा दाहसँस्कार

शालिन पोखरेलको आज दहासंस्कार गरिँदैछ । दिउँसो १ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जानकारी दिएको छ । 

गत फागुन १२ गते शालिन चितवनको शिशु निकेतन बोर्डिङ स्कूलको होस्टेलमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । उनको शवलाई पोष्टमार्टमको लागि काठमाडौँको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएकोे थियो । 

यद्यपि,अस्पतालले तयार पारेको पोस्टमार्टम रिपोर्ट आफूहरुलाई स्वीकार्य नहुने शालिनका बुबा ललित पोखरेल (दिपेन्द्र) ले बताएका छन् । शालिनको बलात्कारपछि हत्या भएको परिवारको दावी छ । तर पोष्टमार्टम रिपोर्टमा भने 'ह्याङ्गिङ्ग'कै कारण मृत्यु भएको उल्लेख गरिएको छ । 

'आज दिउँसो पशुपतिमा नानीको अन्तिम कामकाज गर्दैछौँ', शालिनका बुबा ललितले जनआस्थासँग भने,'तर नानीको आत्माले शान्ति नपाउँदासम्म न्यायको लागि लडिरहन्छु ।'

शालिनको मृत्युलाई षड्यन्त्रपूर्वक आत्महत्या प्रमाणित गर्न खोजिएको ललितको दावी छ । उनले थप्दै भने,'नानीले आत्महत्या गरी भनेर मलाई एक प्रतिशत पनि लाग्दैन । छोरीको लाश देख्दा हत्या र आत्महत्या पनि छुट्याउन नसक्ने म त्यति अबुझ पनि छैन सर ।'

उता चितवन जिल्ला अदालतले पनि शालिन मृत्यु प्रकरणमा पक्राउ परेका तीन जनालाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । 

शालिनको हत्या गरिएको भन्दै परिवारले प्रहरीमा उजुरी दिएपछि फागुन १५ गते प्रधानाध्यापक बालहरि देवकोटा, सहप्रधानाध्यापक किरणबहादुर अधिकारी र होस्टल वार्डेन कमल शर्मा पौडेल पक्राउ परेका थिए । 

घटनास्थलमा भेटिएको भनिएको 'सुसाइड नोट'को अक्षर शालिनकै हो वा होइन भन्ने पुष्टि गर्न प्रहरीको केन्द्रीय विज्ञान प्रयोगशालामा परिक्षण भइरहेको छ । उक्त सुसाइड नोटको अन्तिम रिपोर्ट नआएको र अनुसन्धान बाँकी रहेकाले जिल्ला अदालतले हिजो साँझ पक्राउ परेका तीन जनालाई थप चार दिन हिरासतमा राख्न आदेश दिएको हो । यसअघि अदालतले एक हप्ता हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।

टिप्पणीहरू