सबै श्रेणीहरू

राति खोलामा बगेकी युवतीको उद्धार गर्नेलाई सम्मान

राति खोलामा बगेकी युवतीको उद्धार गर्नेलाई सम्मान

काठमाडौंको विष्णुमतीमा गएराति कारसहित बगेकी युवतीको सकुशल उद्धार गरेका स्थानीय तथा प्रहरीहरु सम्मानित भएका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले उद्धार कार्यमा संलग्न तीन प्रहरी र दुई स्थानीयलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । 

गएराति सवा १० बजेतिर टोखा नगरपालिका–६, ग्राण्डी अस्पतालपछाडि विष्णुमती किनारबाट धुम्बाराहीका अंकुश सिंहले चलाएको बा.प्र ०१–०३१ च ६१४१ नम्बरको कार अचानक खोलामा खसेको थियो । उनी तत्काल गाडीबाट हामफालेर जोगिए । 

तर, खोलामा युवतीसहित कार बगिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे । लगत्तै खटिएको टोलीले स्थानीयको सहयोगमा युवतीको सकुशल उद्धार गरेको थियो । उनी टोखाकी भावना ओली हुन् ।

सम्मान गर्दै काठमाडौं प्रहरीका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले एक डोरीको भरमा आफ्नो जीवन जोखिममा राखेर उद्धारमा खटिएका प्रहरी र नागरिकप्रति धन्यवाद व्यक्त गरे । 

उक्त कार्य समुदाय–प्रहरी साझेदारीको उत्कृष्ट उदाहरण रहेको उल्लेख गर्दै भने,  ‘विपद्को समय अत्यन्त कठोर हुने र त्यस्तो अवस्थामा एक जीवन बचाउनुसमेत ठूलो सफलता हुन्छ । जस्तोसुकै संकटमा पनि नागरिकलाई सहायता गर्न प्रहरी सदैव तयारी अवस्थामा रहन्छ ।’