रुपन्देहीमा तस्करी पुनः मौलाएको चर्चा
रुपन्देहीको सीमावर्ती मर्चवार क्षेत्रलगायत नाकाहरूमा पछिल्लो समय चोरी–तस्करी पुनः बढ्दै गएको छ । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टोलीले तस्करसँग घुस लिँदै गर्दा सशस्त्र प्रहरी बलका एक प्रहरी निरीक्षक र नेपाल प्रहरीका एक सहायक निरीक्षकलाई पक्राउ गरी मुद्दा दायर गरिएको थियो । ती दुवै मुद्दा हाल विशेष अदालतमा विचाराधीन अवस्थामा छ। अहिले सोही क्षेत्रमा पुनः तस्करहरूको गतिविधि बढेको स्थानीय बताउँछन् ।
स्थानीय सञ्चारमाध्यमहरूले पटक–पटक विषय उठाए पनि जिल्ला प्रशासन कार्यालय मौन बसेका कारण तस्करहरूको मनोबल बढेको उनीहरुको निश्कर्ष छ । प्रमुख जिल्ला अधिकारी जिल्ला सुरक्षा समितिको संयोजक हुन्छन् ।
नेपाल–भारत ७० किलोमिटरभन्दा बढी खुला सीमा, पहाड–तराई मिश्रित भूगोल र जातीय–सांस्कृतिक विविधता रहेको रुपन्देही सुरक्षा संवेदनशील जिल्लामध्ये एक मानिन्छ। त्यसैले जिल्लामा सुरक्षा संयोजन कमजोर भएको बताइन्छ ।
स्थानीयका अनुसार, जेन–जी आन्दोलन अघिसम्म कडाइ गरिएको थियो । त्यसपछि तस्करीका लागि कपिलवस्तु र नवलपरासी क्षेत्रका तस्करहरू समेत रुपन्देही नाकातर्फ सक्रिय हुन थालेको स्रोतको दाबी छ । यसबीचमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखहरूको सरुवाको समय भएकाले तस्करहरुको आत्मबल बढेको हुनसक्ने अनुमान छ ।
लामो समयदेखि जिल्ला प्रशासन कार्यालयले पत्रकार, उद्योग वाणिज्य संघ, नागरिक समाज तथा राजनीतिक दलहरूसँग संवाद नगरेकाले पनि परिस्थिति अर्कै बनेको भन्नेहरु देखिएका छन् । यतिखेर माधवप्रसाद पोखरेल रुपन्देहीमा प्रमुख जिल्ला अधिकारी छन् । गृह मन्त्रालयले गत कार्तिक ८ गते ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी सरूवा गर्ने क्रममा पोखरेल लम्जुङबाट रुपन्देही आएका हुन्।
जिल्ला प्रशासन कार्यालयको प्रमुख दायित्व शान्ति–सुरक्षा कायम गर्ने, विकास निर्माणमा सहजीकरण गर्ने, सेवा प्रवाहको अनुगमन र विपद् व्यवस्थापन हो । पाँचवटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा चुनावका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने चुनौति पनि उत्तिकै छ ।
यसअघि नियमित रूपमा हुँदै आएको बजार अनुगमन र सरोकारवाला संस्थासँगको अन्तरक्रिया पनि हाल रोकिएको छ । एकातिर जिल्ला र सीमा नाकामा भइरहेको भनिएको अवैध असुली र ‘लाइन मिलाउने’ काम र अर्कोतर्फ कतिपयले क्यासिनोमा मात्रै ध्यान दिएकाले पनि समग्र सुरक्षा प्रभावकारिताको सन्दर्भ उठेको हो ।
टिप्पणीहरू