एमाले अध्यक्ष केपी ओली धेरैभन्दा धेरै सिट जित्नेभन्दा पनि कसरी इतर समूहका नेतालाई कार्वाही गर्ने भन्नेतिर केन्द्रित भएका छन् । दुई पटकसम्म लगातार ताप्लेजुङबाट जितेका उपमहासचिव योगेश भट्टराईलाई टिकट दिएनन् । एक नम्बरमा सिफारिस भएका र जेनजी आन्दोलनपछि युवा नेतृत्वको कुरा उठाएका भट्टराईलाई काउण्टर दिन ओलीले युवा संघका अध्यक्ष क्षितिज थेवेलाई अघि सारेका छन् ।
गत शनिवार टिकटको टुङ्गो लगाउने गरी बसेको सचिवालय बैठकमा भट्टराईको नाम होल्ड गरिएको थियो । अरु पदाधिकारीलाई चुनाव लड्न आग्रह गरेका ओलीले उनका हकमा भने तल फरक अवस्था छ भन्दै नकारात्मक टिप्पणी गरे । अनि भोलिपल्टै थेवेलाई गुण्डुमा बोलाएर टिकट थमाइदिए । गुण्डुबाट निस्किएर थेबेले युवासंघका नेताहरुलाई ओलीसँगको भेटबारे सविस्तार बताएका छन् ।
उनका अनुसार, ओलीको भनाई थियो– ‘उपमहासचिवलाई रोकेर अर्कोलाई मबाहेक अरू कसले टिकट दिन सक्छ ? मैले त ठूलो चुनौती मोलेर जिम्मेवारी दिएको छु । चुनाव पनि जित्ने, योगेशलाई कार्वाही पनि गर्ने वातावरण तयार गरेर आउनु ।’
सचिवालय बैठक अगाडि पनि ओलीले थेबेलाई टिकटको बचन दिएका थिए । ‘भानुदाइ र क्षितिज गुण्डु जानुभएको थियो, त्यो बेला जसरी पनि टिकट दिन्छु, जितेर आउनु भन्नुभएको रहेछ ।’ युवा संघका एक पदाधिकारी भन्छन्, ‘उहाँहरुलाई महासचिव शंकर पोखरेलसँग पनि भेट्नु भनिएकाले गएर भेट्यौं, महासचिवले पनि क्षितिजले नै टिकट पाउने ज्ञारेण्टी गर्नुभयो ।’
महाधिवेशनमा टिम नै बनाएर चुनौती दिएको, झण्डै महासचिव हारिएको जस्ता विषय ओलीले योगेशका बारेमा उठाउने गरेका छन् । शनिवारको सचिवालय बैठक अगाडि शुक्रबार पार्टीका केही पदाधिकारी गुण्डुमा भेला भएका थिए । उपाध्यक्ष रामबहादुर थापा बादल, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, सचिव भानुभक्त ढकाल र केन्द्रीय सदस्यमा समेत पराजित विश्वासपात्र विष्णु रिमाल राति दुई बजेसम्म छलफलमा थिए ।
‘हामी घर पुग्दा दुई बजेको थियो ।’ छलफलमा सहभागी एक नेताले भने, ‘देशभरिका निर्वाचन क्षेत्रमा कसरी टिकट वितरण गर्ने भन्नेबारे छलफल भएको हो, अध्यक्ष अलि जब्बर हुनुभयो, केही साथीलाई पेलेर जाने मुड थियो, त्यहीअनुसार निर्णय भयो ।’ गुल्मीमा जित्ने अर्को नेता देखिएको भए गोकर्ण बिष्टको पनि टिकट खोसिने उनले जानकारी दिए । ईश्वर पोखरेलतिर लागेकालाई जसरी पनि रोक्न ओलीले निकट नेताहरुलाई निर्देशन दिएका थिए । भूगोलबाट सिफारिस भएर आउनेलाई रोक्न नसकेपछि प्रदेश कमिटीबाट रोक्न खोजे, त्यहाँ पनि सम्भव नभएपछि आफैं अगाडि सरेर टिकटमा छेकेको एमाले नेताहरुले बताएका छन् ।
ओलीले दिएको निर्देशन सुनाउँदै एक पदाधिकारी भन्छन्, ‘निर्वाचनको समीक्षा गर्दै धेरै नेतालाई कार्वाही गर्ने आधार खोज्नुभएको छ, चुनावपछि धेरैलाई डण्डा लाग्ने सम्भावना छ ।’ विष्णु रिमाललाई उपमहासचिवमा हराएको कारण योगेश भट्टराई र राजेन्द्र गौतम कार्वाहीको पहिलो लिष्टमा रहेको उनले जानकारी दिए । उनैका अनुसार अरु नेताका गतिविधि पनि ओलीले कालो रंगको डायरीमा टिपेका छन् । निकट नेताहरुलाई नियमित जसो भन्ने गरेका छन्, ‘हारजित आफनो ठाउँमा छ, कार्वाहीको आधार दिनुपर्छ, त्यो तपाईंहरुको जिम्मेवारी हो ।’
उपमहासचिवलाई नै टिकट नदिँदा राम्रो सन्देश जाँदैन, योगेशलाई अन्याय भयो भन्नेहरुलाई ओलीले कठोर जवाफ फर्काउने गरेका छन्– ‘तपाईंहरु के योगेशको बिचौलिया हो ?’ एक नेता भन्छन्,‘पार्टीमा युवा चाहियो भनेर फेसबुकतिर बकबक गरेको होइन उहाँले ? युवालाई टिकट दिएकोमा किन रिस गरेको ?’ योगेशको नाम लिएर कुरा गर्न नआउनसमेत ओलीले नेताहरुलाई निर्देशन दिएका छन् ।
(जनआस्था साप्ताहिकको माघ ७ गते बुधबारको अंकमा प्रकाशित)