कुनै कोणबाट पनि हाम्रो देशले विकसित मुलुकको चरित्र बोक्दैन तर जन्मदर भने नराम्ररी ओरालो लाग्दै छ । बाजे बराजुका पालामा ‘सन्तानले डाँडाकाँडा ढाकुन्’ भन्ने आशीर्वादै दिइन्थ्यो । कालान्तरमा दुई सन्तान– ईश्वरको बरदान भन्न थालियो । पछिल्लो समय एक सन्तानमै अभिभावक रोकिनु र बढ्दै गएको बाँझोपन, युवाहरू परदेशिनु, ढिलो विवाहका कारण नेपालको जन्मदरले विकसित मुलुककै शैली पछ्याउन थालेको छ । नेपालमा परिवारलाई एक सन्तानमै सीमित गर्ने प्रवृत्ति बढ्दै जानुमा महिला आर्थिक रूपमा सक्रिय बन्दै जानु पनि कारण हो । जागिर, राजनीति, व्यवसायमा महिला खुल्दै गएपछि जन्मदर ओह्रालो लाग्न थालेको अध्येताहरूको तर्क छ ।
सन् २०२१ मा चीनमा १ करोड २० लाख शिशुको जन्म भएकोमा २०२२ मा ९५ लाख ६० हजार, ०२३ मा ९० लाख २० हजार मात्रै पैदा भए । यस्तै झण्डै १२ करोड ५० लाख जनसंख्या भएको जापानमा सन् २०२३ मा अघिल्लो बर्षभन्दा आठ लाख कम बच्चा जन्मिए ।
यही शैलीमा नेपालको जन्मदर घट्न थालेको छ । राष्ट्रिय तथ्यांक विभागका अनुसार एक दशकमा जन्मदर झण्डै ३१ प्रतिशतले घटेको छ । दशकअघि नेपालको जनसंख्या वृद्धिदर १.३५ प्रतिशत थियो, ०७८ मा ०.९३ मा झर्यो । जबकि २००९ सालमा प्रत्येक १ हजार जनसंख्या बराबर ५० शिशु जन्मिन्थे । अहिले १४ शिशुमा सीमित हुन पुगेको ६ दशकको जनसंख्या विश्लेषण गर्दा सन् १९६१ देखि सन् १९९१ सम्म जनसंख्याको प्रारूपमा खास परिवर्तन नदेखिए पनि प्रजातन्त्र गणतन्त्रमा प्रवेश गरेपछि जन्मदरमा गिरावट आएको हो । ०५८ सालमा २५ देखि ३९ वर्ष उमेर समूहका १ हजार महिला बराबर ७१ जना शिशु जन्मिने गरेका थिए । २०७८ सालमा यो संख्या घटेर ४७ पुगेको तथ्यांकले देखाएको छ । छोरा र छोरी दुवैको जन्मदर घट्दै गएको छ भने यसमा बालिकाको संख्या धेरै छ । केन्द्रीय तथ्यांक विभागका अनुसार, बागमतीको १ हजार जनसंख्यामा ११ जना शिशु जन्मिन्छन् भने कर्णालीमा १८ जना जन्मिने गरेका छन् ।
उसो त एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीको तथ्यांक केलाउँदासमेत जन्मदर ओह्रालो लागिरहेको देखिन्छ । ०७८/७९ मा देशभर ४ लाख १५ हजार २२ जना शिशु जन्मिएका थिए । अर्थात प्रतिदिन १ हजार १३७ शिशुको जन्म हुन्थ्यो त्यसताका । अर्काे वर्ष १ लाख ८१ हजार ८९६ ले घटे अर्थात् २ लाख ३३ हजार १२६ मा अर्थात् ६३८ जना जन्मिए । यो भनेको अघिल्लो आर्थिक वर्षभन्दा ४९९ ले घटी हो ।
यस्तै आव २०८०/८१ मा शिशु जन्मदर अघिल्लो वर्षभन्दा ४२ हजार ४३४ ले घटेर १ लाख ९० हजार ६९२ मा आइपुग्यो अर्थात् दैनिक जन्मदर ५२२ रह्यो । धेरैको रोजाईमा पर्दै आएको थापाथलीस्थित प्रसूति गृहमा हरेक वर्ष २५ हजार बढी जन्मने गरेकोमा गत वर्ष २२ हजार मात्र पैदा भएको अभिलेख छ । झण्डै १५ प्रतिशत दम्पतीले बाँझोपनाको समस्या झेलिरहेका छन् ।
(जनआस्था साप्ताहिकको पुस ३० गते बुधबारको अंकमा प्रकाशित)