‘मसँग किन लडेको ? किन जोरी खोजेको ?’ भन्दै ईश्वर पोखरेलसँग एमाले अध्यक्ष केपी शर्मा ओलीले सात दिनअघि गुण्डुमा कडिकडाउ प्रश्न सोधेका छन् । स्रोतका अनुसार महाधिवेशनबाट अध्यक्षमा हारेपछि फागुन २१ गतेको निर्वाचनका विषयमा कुराकानी गर्न पोखरेललाई ओली निवासमा डाकिएको थियो । ओलीको प्रश्नमा पोखरेलले ‘पार्टीलाई लोकतान्त्रिक बनाउन’ भन्दै नरम जवाफ फर्काएको स्रोत बताउँछ ।
पोखरेलसहितका नाममा ओखलढुंगा जिल्ला कमिटीले सिफारिस पठाएपछि ओलीले त्यसरी बोलाएका हुन् । सो भेटमा ओलीले ओखलढुंगाबाट लड्ने कि नलड्ने भनी सोधेका थिए । प्रतिउत्तरमा पोखरेलले काठमाडौं ५ बाट लड्न चाहेको बताउँदै साथीभाइसँग छलफलपछि अन्तिम टुङ्गो लगाउने बताएका थिए । ओलीले भने तपाईंकै जिल्ला हो, कि उतै जानुहुन्छ भन्दै मन बुझ्न खोजेका थिए ।
पोखरेलले जन्म जिल्ला त हो तर थातथलो काठमाडौं भैसक्यो भनेको बुझिएको छ । उनकै मनशाय बमोजिम एमालेले काठमाडौं ५ बाट उठाएको छ । पोखरेललाई पन्छाएर ओलीले राजन भट्टराईलाई टिकट दिने योजना बनाएका थिए । त्यसपछि अस्मिता थापालाई ओखलढुंगाबाट उम्मेदवार बनाएपछि नकारात्मक तरङ्ग फैलिएको छ । थापाले नेकपा विभाजन भइसकेपछि ओलीले बनाएको पुसे कमिटीको हुलमुलमा अनेरास्ववियूको तर्फबाट भन्दै केन्द्रीय सदस्य बन्ने अवसर पाएकी थिइन् । थापाले पार्टी सदस्यता कहिले, कहाँबाट, कोसँग लिएको भन्ने यकिन नै नगरी एकैपटक केन्द्रीय सदस्यमा छलाङ हानेकी हुन् । लिखु गाउँपालिकाको उपाध्यक्ष जितेकी थापाका पिता चित्रबहादुर भने नेपाली कम्युनिष्ट पार्टीका राम्रै नेता मानिन्छन् ।
ओखलढुंगा जिल्ला कमिटीले इश्वर पोखरेल, यज्ञराज सुनुवार, ज्ञानबहादुर खड्का, अमिरबाबु गुरुङ्ग, नानीबाबु बुढाथोकी र अध्यक्ष सञ्जय खत्रीसहित १८ जनाको नाम पठाएको थियो । यी सबै नाम खारेज गरी थापालाई उम्मेदवार तोकिएको छ । थापा ओली प्यानलबाट हालै केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।