सबै श्रेणीहरू

झापाले दिनसक्ने विद्युतीय झड्का

झापाले दिनसक्ने विद्युतीय झड्का

बालेन तराई झरेसँगै केपी ओली झापा पुगे । त्यही दिन जनकपुरमा पहिलो पटक मुख खोल्दै बालेनले देशव्यापी सन्देश छरे । उता दमकमा ३५ वर्षदेखिको विरासत धानेका ओलीले बालेनको दारीको चर्चा गर्दै भने, ‘कोही मानिस दारी पालेको भेटिए बालेन हो भनेर सोध्छन् ।’ पत्रकारहरुका प्रश्न भुइँमा खस्न नभ्याउँदै ओलीले भने, ‘मसँग भिडेर चर्चित हुन खोजेका होलान् ।’

तर मनोनयनको अघिल्लो दिन माघ ५ गते जनकपुरमा बालेन र रविले दिएको सन्देशले दलहरुलाई जबर्जस्त चुनावमा होमिदिएको छ । नचाहेरै भए पनि पुराना दलहरु चुनावमा होमिनुपर्ने अवस्था छ । त्यसमाथि कांग्रेसमा शेरबहादुरको हुस्सुपनको फाइदा गगन थापा पक्षलाई भयो । ओली त्यसमा बरु अलिकति जोगिए । उनले चुनावअघि नै महाधिवेशन गरेर आफूलाई अनुमोदित गरे । शेरबहादुरले यति बुझेको भए कांग्रेस विभाजित हुने थिएन । 

फागुन २१ गतेलाई चुनाव निश्चित थियो । चुनाव हुँदैन भन्नुमा पुराना दलहरुको बाध्यता थियो होला किनभने उनीहरु अझै रनभुल्लमा छन् । मनोनयन गर्न जाँदासम्म गाउँ जाने बाटो भेट्टाउन सकेका थिएनन् । त्यसअघि नै खाली मैदानमा अरु नै कोही दौडिसकेका थिए । एकमना सरकारको अभ्यासमा रमाएको कांग्रेस र एमालेको नेतृत्व अपदस्थ भएपछि कार्यकर्तामाझ उत्साह छैन । झापा–५ का एकजना एमाले कार्यकर्ताको प्रश्नले रन्थदिनु स्वाभाविकै हो– हिजो दुई तिहाइवाला सरकारको असफलताको अपजस किन बोक्ने ? 

ओलीकै भनाइ सापटी लिऊँ । चर्चित बन्नकै लागि मात्र बालेन झापा आएका होलान् त ? हिजो ओलीले अरु उम्मेद्वारलाई म¥याकमुरुक पारेकै हुन् । युग पाठकदेखि अरुहरु त्यसमा थिए । काठमाडौं महानगरको मेयर जितेका र भावी प्रधानमन्त्रीको रुपमा घोषित व्यक्ति हार्नकै लागि यहाँ पक्कै आएको हैन होला । 

देशभरमै झापाको चुनावले ध्यान खिचेको छ । यही झापाबाट सभामुख र उपसभामुख एक आपसमा भिड्दैछन् । राप्रपाका अध्यक्ष यहीँबाट उठ्दैछन् । भलै विश्वप्रकाश शर्मा र कृष्ण सिटौलाले यसपटक मैदान खाली गरे तर उनीहरुको प्रभाव रहेकै छ । असहज परिस्थितिमा केपी ओलीले झापा ५ किन छाडेनन् ? यो सवाल भने ज्वलन्त नै छ । केपी ओलीले पहिलो संविधानसभा चुनाव हारेका हुन् । उनी अविजित भने होइनन् । त्यो चुनाव हारेपछि ओलीले आफ्ना खास मान्छेलाई बोलाएर दमककै घरमा भनेका थिए, ‘अब म राजनीति गर्दिन ।’ उनी त्यसबेला एकदमै निराश थिए । अब पनि त्यो दिन नआउला भन्न सकिन्न । 

त्यसबेला ओलीलाई चुनाव हराउने विश्वद्वीप लिङ्देन अहिले माओवादीमा छैनन् । कांग्रेस पसे तर त्यसयता निष्क्रियजस्तै छन् । अनि झापा–५ मा राप्रपा बलियै छ । कांग्रेसको गुटीय अभ्यासले झापा ३ र झापा ५ लाई मिलाप गराउला कि नगराउला ? यो भने प्रष्ट भइसकेको छैन तर यसपटक त्यसो नहुने विश्लेषण गर्न सहज छ किनभने कांग्रेसमा शेरबहादुर देउवाको पतनसँगै कृष्ण सिटौला कमजोर बन्नु र राजेन्द्र लिङ्देनले एक्लै जित्ने ठान्नु परस्परमा मेल खान सक्छ । यसरी हेर्दा विभाजित मन लिएर एमालेजन मैदानमा जान नसक्नु र विगतमा झैँ झापा ३ मा एमाले कार्यकर्ताले सूर्यबाहेक मत नहाल्ने अडान कस्नु– यो पनि अर्को बलियो पक्ष हो । 

भरसक बालेन झापा नआउन् भन्न झापाका एमालेजनहरुले धेरैतिर धुप हाले । स्टाटसहरु लेखे । अनेक तर्क बितर्क गरे तर बालेन आएरै छाडेपछि एमाले हाँक्ने सारा शक्ति झापा झरिसक्यो । प्रेस चौतारीका अध्यक्ष पनि सँगै छन् । अस्तिदेखि नै उनको एउटा टिमले काम गरिरहेको छ । त्योभन्दा अगाडिदेखि नै युटुबर किशोर श्रेष्ठलगायत अरुहरुले यसपटक भोट कसलाई ? बालेन कि ओली भनेर हाकाहाकी प्रश्न गरिरहेका छन् । चोक, गल्ली, टेम्पो चालकदेखि बटुवासम्मलाई सोधिसके । 

यसरी हेर्दा तालमेल र जालझेलको भरमा टिकेको त्यहाँको चुनावी फण्डा फेरि पनि उही तालमै गएमा भन्न सकिन्न तर सबैले आ–आफ्ना उम्मेद्वार उठाइसकेको अवस्थामा भने परिणामको आकलन गर्न गाह्रो छ । मनसँगै मत पनि फेरिन सक्छ ।

(जनआस्था साप्ताहिकको पुस ३० गते बुधबारको अंकमा प्रकाशित)