सबै श्रेणीहरू

कांग्रेससँग गठबन्धन टरेपछि दार्चुलाका एमाले दंग

कांग्रेससँग गठबन्धन टरेपछि दार्चुलाका एमाले दंग

प्रतिनिधिसभाको आसन्न निर्वाचनमा कांग्रेससँग सम्भावित गठबन्धन टरेपछि दार्चुलाका एमाले नेता–कार्यकर्ता खुशी भएका छन् । केन्द्रमा कांग्रेससँग गठबन्धन गर्ने गृहकार्य र हल्लाले ती सशंकित र निराश बनेका थिए । कांग्रेसको विशेष महाधिवेशनबाट विकसित घटनाक्रमले गठनबन्धनको सम्भावना टरेसँगै दार्चुलामा जित सुनिश्चित भएको आकलनसहित एमाले नेता–कार्यकर्ता खुशी देखिन्छन् । कांग्रेससँग गठबन्धन भएको अवस्थामा दार्चुलाबाट एमालेले उम्मेदवारी गुमाउने र दिलेन्द्रप्रसाद बडूले गठबन्धनको नेतृत्व गर्दै उम्मेदवारी पाउने प्रबल सम्भावना थियो । 

दार्चुलाबाट एमालेको नेतृत्व गर्दै आएका पूर्वमन्त्री गणेश सिंह ठगुन्ना पार्टी संस्थापन पक्षमा भए पनि गठबन्धन हुँदा बैतडीसँग उम्मेदवारी साँटिने सम्भावना थियो । पार्टी राजनीतिमा बैतडीका नेता एवं पूर्वमन्त्री दामोदर भण्डारी ठगुन्नाभन्दा जुनियर हुन् । तर, गठबन्धन हुँदा ओलीको प्राथमिकतामा भण्डारी पर्ने सहज अनुमान गरिएको थियो । 

सुदूरपश्चिम प्रदेशभरिमै राष्ट्रपति रामचन्द्र पौडेलले सबैभन्दा पत्याउने पात्र बडू हुन् भने सशांक र शेखरले पनि उनैलाई च्याप्ने गरेका छन् । शक्ति सन्तुलन मिलाउँदा देउवाले पनि बडूलाई नै प्राथमिकता दिनुपर्ने बाध्यता थियो । अब सम्भावित गठबन्धन टरेको मात्रै छैन, २०४८ सालदेखि निरन्तर कांग्रेसको नेतृत्व गर्दै आएका नेता दिलेन्द्रप्रसाद बडूले चुनावी प्रतिस्पर्धाबाट सन्न्यास नै लिएका छन् ।

(जनआस्था साप्ताहिकको पुस ३० गते बुधबारको अंकमा प्रकाशित)