सबै श्रेणीहरू

सुनिता कार्यवाहक भएपछि उपमेयर को ?

सुनिता कार्यवाहक भएपछि उपमेयर को ?

काठमाडौंका मेयर बालेन्द्र साहले राजीनामा दिएसँगै महानगरपालिका हाँक्ने जिम्मेवारी उपमेयर सुनिता डंगोललाई आएको छ । मेयरले राजीनामा दिइसकेपछि संविधानले गरेको व्यवस्थाअनुरूप कार्यवाहक स्वतः हुने भइगयो । 

शहरी योजना आयोगमा नगर प्रमुखले नियुक्त गरेको व्यक्ति स्वतः बाहिरिनुपर्ने महानगरपालिकाले बनाएको ऐनमा उल्लेख छ । अब त्यहाँ  सदस्य नियुक्त गर्न सुनितालाई निर्वाचन आचार संहिताले रोक्नेछ । संविधानमा एक वर्षभन्दा बाँकी अवधि पालिका प्रमुखको निर्वाचन गर्ने व्यवस्था छ । यसबीच धेरै पालिका प्रमुखले राजीनामा दिएर निर्वाचनमा भाग लिएका छन् ।

स्थानीय तहको निर्वाचन २०८४ को वैशाखमा गर्नुपर्ने हुन्छ । यस हिसाबले पनि रिक्त पदको अवधि १६ महिना छ । १६ महिना कार्यवाहक उपमेयरले मेयर भूमिका निर्वाह गर्न मिल्दैन । बालेन्द्र साहले राजीनामा दिएको १ घण्टामा कार्यपालिका वैठक राखेकी सुनिता डंगोलले मंगलबार कर्मचारीलाई बोलाएर हालसम्म मेयरले गरेका कामबारे जानकारीसहित उनले प्रयोग गरेका सेवा–सुविधा आफूमा ल्याउन निर्देशन दिएकी छन् । 

डंगोलले अहिले नै सुविधास्वरूप दुईवटा सवारी उपभोग गरिरहेकी छन् ।  अब मेयरले प्रयोग गरेको निवास र सवारी साधन पनि आफ्नो नियन्त्रणमा आउने पक्का छ । भूकम्पपछि कीर्तिपुरमा बस्दै आएकी सुनितालाई सरकारी क्वार्टरको महसुस बालेनले छाडेको ४८ घण्टामै भइसकेको छ । महानगरपालिकामा बहुमत रहेको कांग्रेसले उपप्रमुख र कार्यवाहक प्रमुख दुवै पद एकै जनालाई सम्हाल्न नदिने तयारी छ ।

(जनआस्था साप्ताहिकको पुस ३० गते बुधबारको अंकमा प्रकाशित)