एउटैलाई दोहोर्याई तेहर्याई, अरू हेरेको हेर्यै ! न्याय दिने थलोले कर्मचारीमाथि अन्याय गरेको प्रसंग हो यो । एउटै कर्मचारीले बारम्बार अवसर पाइरहँदा अरू भने थन्किएर बसेका छन् । सबैले मौका पाउनेगरी पोष्टिङ गर्नुपर्नेमा न्यायालयले नै कानुनविपरीत एउटै व्यक्तिलाई अवसर दिइरहेको छ । जसको एउटा नमुना रूपन्देही जिल्ला अदालत हो । उक्त अदालतलाई मालदार अदालतका रूपमा चिनिन्छ ।
मुद्दा धेरै पर्ने भएकाले आम्दानी हुन्छ । त्यहाँ जान शाखा अधिकृत दर्जाका कर्मचारीहरूको होडबाजी नै चल्छ । एकचोटि तहसिलदार भइसकेका शाखा अधिकृतलाई पुनः त्यहीँ पठाइएपछि कर्मचारीहरू रुष्ट बनेका छन् । रूपन्देहीका वर्तमान तहसिलदार कृष्णप्रसाद पौडेल यसअघि पनि त्यहीँ थिए । दोहोर्याएर पठाइएको छ । जबकि, एकचोटि एउटा अदालतमा जिम्मेवारी निर्वाह गरिसकेकालाई सोही पदमा पुनः पठाउन नमिल्ने कानुनी व्यवस्था छ ।
रूपन्देही जानका लागि उनी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसँग नजिक भएको स्रोतको जिकिर छ । ‘उनलाई त्यहाँ पठाएपछि साथीहरूले आपत्ति जनाएका थिए । केही समयका लागि पदस्थापन रोकियो पनि तर सपना श्रीमान्को आदेशपछि तत्कालै पोष्टिङ गरियो । कानुन पालना गराउनुपर्ने ठाउँ र व्यक्तिबाटै कानुनको उल्लंघन भएको छ’, स्रोतले भन्यो ।
भैरहवा कर्मचारी मात्र नभई प्रहरी पनि जान चाहने ठाउँ हो । त्यहाँ चुनौतीसँगै कमाइ पनि राम्रो छ । झन् तहसिलदार भएर जानेलाई पैसैपैसा छ । तहसिलदारले मुद्दामा असुल गरेको रकमको २५ प्रतिशत हिस्सा पाउँछन् । रूपन्देही अदालतमा जान कर्मचारीहरूको तँछाडमछाड हुनुको कारण ‘हाइ प्रोफाइल’ का केसहरू आइरहनु पनि हो ।
पहिले तहसिलदार, अहिले आर्थिक अधिकार
तहसिलदार फैसला कार्यान्वयन गर्ने अधिकारी हुन् । आर्थिक अधिकार तहसिलदारभन्दा एक तहमाथिका श्रेस्तेदारलाई हुन्छ । रूपन्देहीका श्रेस्तेदार विकास बस्नेत न्यायाधीशमा नाम निकालेर गएपछि माघ २ गतेदेखि पद रिक्त छ । त्यहाँ विमल रेग्मीलाई पठाउने निर्णय भएतापनि उनी आइपुगेका छैनन् । श्रेस्तेदार नभएपछि तलब खुवाउने अधिकार तहसिलदारलाई दिइएको छ ।
कार्यक्रमका लागि केही दिनअघि नवलपरासी, रूपन्देहीलगायत विभिन्न जिल्ला पुगेकी सपना श्रीमान्ले पीडितले कोषबाट रकम पाए–नपाएकोबारे चासो देखाएकी थिइन् । तहसिलदार पौडेलले निन्याउरो अनुहार लगाउँदै ‘आफूलाई सो कोषबाट रकम बाँड्ने अख्तियारी नदिएको’ भन्दै गुनासो पोखे । त्यसपछि सपना श्रीमान् ‘किन अख्तियारी नदिएको ?’ भन्दै कराएकी थिइन् । ‘उनले श्रेस्तेदार आएर रकम दिनुहुन्छ भन्नुपथ्र्यों । तर, अख्तियारी दिएका छैनन् भनेछन्’ त्यहींका एकजना सुब्बाले बताए । रूपन्देही अदालतका सूचना अधिकारी पदम अर्यालले एकाध दिनमा श्रेस्तेदार आउने बताए । उनले भने ।
(जनआस्था साप्ताहिकको पुस ३० गते बुधबारको अंकमा प्रकाशित)