नेकपा एमाले कोशी प्रदेश कमिटीले ताप्लेजुङका दुई नेताको निलम्बन फुकुवा गरेको छ। निलम्बन फुकुवा भएकामा एमाले ताप्लेजुङ जिल्ला कमिटी पूर्व अध्यक्ष, कोशी प्रदेश सभाका पूर्व सदस्य तथा मन्त्री एवम् कोशी प्रदेश कमिटी सल्लाहकार परिषद सदस्य बलबहादुर साम्सोहाङ र कोशी प्रदेश कमिटी पर्यटन विभाग सचिव मणिशंकर पोमू हुन् ।
प्रदेश कमिटीले गत मंसिर ११ गते पार्टीभित्र देखिएको आन्तरिक द्वन्द्वका विषयमा स्पष्टिकरण सोध्दै दुवै जनालाई निलम्बन गरेको थियो। १५ दिनभित्र स्पष्टिकरण पेश गर्न भनिएअनुसार दुवै नेताले आत्मआलोचनासहित चित्तबुझ्दो स्पष्टिकरण बुझाएको प्रदेश कमिटीको ठहर छ।
सोही आधारमा गत पुस ९ गतेदेखि लागू हुने गरी दुवै नेताको निलम्बन फुकुवा गरिएको पत्र पठाइएको छ। तर उक्त पत्र माघ १० गते मात्र मणिशंकर पोमूको सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको हो । अर्का नेता बलबहादुर साम्सोहाङले भने आफू हाल सामाजिक सञ्जालबाट टाढा रहेकाले पत्र सार्वजनिक भएको विषयमा जानकारी नभएको बताए ।
ताप्लेजुङका स्थानीय एमाले नेता तथा कार्यकताहरूले निलम्बन फुकुवाको पत्र एक महिनाअघि नै जारी भए पनि अहिले सार्वजनिक हुनु चुनावी रणनीतिसँग जोडिएको हुन सक्ने टिप्पणी गरेका छन्। यसले पार्टीभित्रको असन्तुष्टि कम भई कार्यकर्ता एकताबद्ध गर्न मद्दत पुगेको र आगामी निर्वाचनमा पार्टीलाई चुनावी मैदानमा उत्रन सहज भएको एमालेको भनाइ छ ।

