प्रतिनिधिसभा सदस्यको लागि ओखलढुंगाबाट उम्मेद्वार बनेकी नेकपा (एमाले) की अस्मिता थापाले श्रीमानलाई स्वकीय सचिव (पिए) बनाएर चुनाव प्रचार थालेकी छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा डेढ महिनाअघि मात्रै बिहे गरेकी उनले श्रीमान ईश्वर कार्कीलाई स्वकीय सचिव भन्दै चिनाउन थालेकी हुन् ।
चुनावी प्रचारको लागि अस्मिता जहाँ पुग्छिन्, त्यहाँ कार्कीलाई ‘श्रीमान’ भन्दा पनि ‘पिए’को रुपमा प्रस्तुत गर्दै आएको निकटस्थ एक नेताले जानकारी दिए । उनका अनुसार कार्कीले पनि अस्मिताको झोला र डायरी बोकेर चुनावी प्रचारमा सहयोग गरिरहेका छन् । ‘उहाँले स्थानीय मतदातासँग भेट्दा म्याडमको पिए हुँ,तपाईंको समस्या के के छन्,भन्नुस्,म टिपेर म्याडमलाई बुझाइदिन्छु भन्दै आउनुभएको छ’, जानकार ती नेताले भने ।
निर्वाचनको मिति नजिकिँदै गर्दा डेढ महिनाअघि मात्रै बिहे गरेकी उनले श्रीमान ईश्वर कार्कीलाई स्वकीय सचिव भन्दै चिनाउन थालेकी हुन् ।
जिल्लाका प्रभावशाली नेताहरु नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरिसकेको पृष्ठभूमिमा अस्मितालाई चुनावी प्रचारमा कठिनाइ थपिएपछि श्रीमानलाई पिए बन्नुपर्ने आपत आइपरेको बताइन्छ । स्मरणीय छ,पार्टी अध्यक्ष केपी शर्मा ओलीले अस्मितालाई टिकट दिएपछि असन्तुष्ट बनेका जिल्ला कमिटी अध्यक्ष ज्ञानबहादुर खड्का,उपाध्यक्ष कमलप्रसाद न्यौपाने,सचिव अशोक थापालगायतका नेताहरु केही दिनअघि नेकपामा प्रवेश गरिसकेका छन् । पार्टीकै नेताहरुबाट असहयोगको परिस्थिति सिर्जना भएपछि कतिपयले अस्मिताको हार निश्चित रहेको दावी समेत गर्न थालेका छन् ।