सबै श्रेणीहरू

जुनुको प्रभाव, जेनजीको दबाव

जुनुको प्रभाव, जेनजीको दबाव

केही शाखा अधिकृतदेखि सचिवसम्म जेन–जीलाई प्रयोग गरी आकर्षक ठाउँमा सरुवा थमौती हुन थालेका छन् । 

गत शुक्रवारको क्याबिनेट  बैठकले धर्मेन्द्रकुमार मिश्रलाई गृह मन्त्रालयमै थमौती गरेको छ । हाल बाराको प्रजिअ रहेका मिश्रलाई एकै लटमा ६० जना सहसचिवको सरुवा हुँदा मधेश पुर्‍याइएको थियो तर तीन साता नबित्दै जेनजीहरुको दवाव थेग्न नसकेर सरकारले सरुवा बदर गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्काल नचलाउन निर्देशन दिएकै कारण मिश्र त्यहीं थमौती भएका हुन् । अर्यालले मिश्रलाई कात्तिक १८ गते बारा पठाएका थिए । ५९ जना सहसचिव ठाउँठाउँमा हाजिर हुँदा मिश्रले जेनजीलाई प्रयोग गरेर सरुवा बदर गराएका छन् । जेनजीलाई नै प्रयोग गरेर नेपालको सबैभन्दा ठूलो जिल्लामा प्रजिअ खटाइएको पाइएको छ ।  

कार्यविधि कुल्चिएर महिला उपसचिवलाई डोल्पा पठाइएको हो । जुनु हमाललाई त्यसरी खटाइनुमा अनिल बानियाँहरुको ठूलो हात रहेको बताइन्छ । अनिल वन मन्त्री माधव चौलागाईंको सचिवालयमा छन् । जुम्ला निवासी जुनुलाई खटाउनकै लागि भीम कोइरालाको सरुवा गराइएको थियो । गृहले सिडिओ हुनका लागि कानुनमा स्नातक गरेको वा कम्तिमा ३ महिना कानुनसम्बन्धी अनिवार्य तालिम लिएको हुनुपर्ने व्यवस्था गरेको छ । तर जुनुले न कानुनमा स्नातक गरेकी छन्, न तीन महिने तालिम नै लिएकी छन् । उपसचिवलाई जिल्ला पठाउँदा कम्तिमा एक बर्ष मन्त्रालय वा मातहत बसेर काम गरेको हुनुपर्ने अनिवार्य व्यवस्था छ ।  ०८१ की उपसचिव उनलाई उद्योग मन्त्रालयबाट सिधै सिडियोको जिम्मेवारी दिइएको हो । 

यस्तै, वन तथा वातावरण मन्त्रालयका सहसचिव मिमांश अधिकारीलाई जेन–जीकै दबाबमा वनबाट धपाएर राष्ट्रिय योजना आयोगमा ठेलिएको छ । उनी वनमा पुगेको तीन महिनामात्र हुँदै थियो । सहसचिव भुपेन्द्र थापाले केही जेनजी प्रयोग गरेर वन मन्त्रालयमा प्रवेश पाएका छन् । यसअघि वनकै कर्मचारी प्रशासन हेर्दै आएका  उपसचिव शोभाकर रेग्मीलाई सामान्यको बरण्डामा थन्काएर त्यहाँ प्रेम देवकोटालाई लगिनु, सचिव राजेन्द्र मिश्र वनबाट मिल्काइनु र अहिले कप्रमा रहेकी अस्मिता ढकाललाई मन्त्रालय भिœयाइनुमा समेत जेनजीहरुको जोडबल रहेको चर्चा छ । वन मन्त्रालयका अनिल बानियाँ, हरिहर न्यौपानेहरु सुदन गुरुङ्ग निकट मानिन्छन् । गत शुक्रवारको क्याबिनेटले भौतिक पूर्वाधार सचिव केशवकुमार शर्मा र विज्ञान तथा प्रविधि सचिव विश्वबाबु पुडासैनीको जिम्मेवारी हेरफेरको निर्णय गरे । जेनजीलाई प्रयोग गरेर सरुवा उल्टाइएको समेत बुझिएको छ । 

आधिकारिक ट्रेड युनियनको अध्यक्ष हुँदै मन्त्रालयमा १७ बर्ष बिताएकी एमाले निकट शाखा अधिकृत विष्णु अधिकारीले समेत जेनजी प्रयोग गरेर सरुवा उल्टाउन सफल भएको काँग्रेसको आरोप छ । उपसचिवको दरबन्दी रहेको संघीय जलाधार व्यवस्थापन स्रोत केन्द्र, कुलेखानीमा उनी डेढ बर्षदेखि निमित्त कार्यालय प्रमुख छिन् ।

(जनआस्था साप्ताहिकको माघ ७ गते बुधबारको अंकमा प्रकाशित)