सबै श्रेणीहरू

उपत्यकाका प्रहरीले राजधानीबाटै भोट हाल्न पाउने

उपत्यकाका प्रहरीले राजधानीबाटै भोट हाल्न पाउने

आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं उपत्यकामा कार्यरत प्रहरीले यतैबाट मतदान गर्न पाउने भएका छन् । 

विभिन्न जिल्लामा घर भएका तर उपत्यकामा खटिएका प्रहरीलाई जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा मतदानको व्यवस्था गरिएको छ । त्यसका लागि प्रहरी प्रधान कार्यालयले उपत्यकास्थित कार्यालयहरुमा कार्यरत सम्पूर्ण कर्मचारीको नामावलीलगायत विवरण मागेको छ । 

पत्राचारमा भनिएको छ,‘निर्वाचनमा मतदान गर्ने प्रयोजनको लागि काठमाडौं उपत्यकास्थित कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको नामावली संलग्न जिल्ला निर्वाचन कार्यालय काठमाडौंको पत्रको ढाँचाबमोजिम एक्सल सिट (कालिमाटी फन्ट) सफ्टकपी र प्रमाणित कपीसहित प्रहरी प्रधान कार्यालय प्रशासन शाखा र केन्द्रीय निर्वाचन सेलको इमेल ठेगानामा मिति २०८२–१०–१४ गते दिउँसो २ बजेदेखि अनिवार्य रुपमा खुलाई पठाउनुहुन अनुरोध गरिएको छ ।’ 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महानिरीक्षकको सचिवालय, सबै विभाग, ब्युरो, सीयुजी शाखा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, प्रहरी अस्पताल, उपत्यका प्रहरी कार्यालयलगायतलाई पत्राचार गरिएको हो ।