सुशीला कार्की नेतृत्वको सरकारका गृहमन्त्री ओमप्रकाश अर्याललाई थर्काउँदै एक एसपीले फोन र म्यासेज गरेको बुझिएको छ । राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) मा प्रहरीको एसपी दर्जाका शेरबहादुर चन्दले गृहमन्त्री अर्याललाई तथानाम गाली गर्दै फोन र म्यासेज गरेका हुन् । आफूलाई बढुवामा छुटाएको झोकमा उनले गृहमन्त्रीमाथि आक्षेप लगाएको र उनीमाथि कारबाहीको सिफारिससमेत भइसकेको बुझिएको छ ।
स्रोतले भन्यो,‘१० जना जति भएको भए, उनी बढुवामा पर्थें । दुई जना बढुवा हुँदा छुटे ।’ बढुवामा छुटेका उनले गृहमन्त्रीसँगै गृहसचिव राजकुमार श्रेष्ठलाई फोनमा थर्काए । व्यक्तिगत आक्षेप लगाइएका म्यासेजहरु पठाए । गृह मन्त्रालयले उनीमाथि कारबाहीका लागि अख्तियारलाई पत्राचार गरेको छ ।
अख्तियारले कारबाहीको प्रक्रिया अगाडि बढाइसकेको छ । गृहले गुप्तचरलाई पनि उनलाई कारबाही गर्न निर्देशन दिएकोमा आलटाल गरिएको अवस्था छ । स्रोतका अनुसार गुप्तचरले उनलाई जोगाउन खोजिरहेको छ । यता, गृहले साइबर ब्यूरोलाई पनि उनीमाथि कारबाहीका लागि पत्र पठाइसकेको छ।
‘एसपीले सचिव,मन्त्रीलाई थर्काउन थालेमा संस्थाको अवस्था के हुन्छ ? यसले संस्थामा अराजकता बढ्छ, जुन राम्रो होइन । संस्थाले उनलाई कारबाही गर्न आलटाल गरिरहेको छ । उनीमाथि कारबाही नभएमा अरुको पनि मनोबल बढ्छ’,स्रोतले भन्यो । गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले त्यसबारे केही जानकारी नभएको बताए ।
जनआस्थासँग भने,‘त्यो विषयमा त मलाई जानकारी भएन । उतै गुप्तचरतिरै सोध्दा थाहा होला ।’ गुप्तचरले भने यस विषयमा कुनै प्रतिक्रिया दिन मानेन । त्यहाँका एक अधिकृतले भने,‘हाम्रो गोप्य संस्था भएकाले कुनै सूचना दिन मिल्दैन ।’