पाथिभराको इतिहास र पहिचान झल्काउने वृत्तचित्र ‘मुक्कुमलुङहरुः आदिवासीको आस्थामाथि आक्रमण’ प्रदर्शनमा आएको छ । थापागाउँस्थित मण्डला थिएटरमा हिजो साँझ पहिलो प्रदर्शन गरिएको हो ।
करिब एक घण्टा लामो वृत्तचित्रले दर्शकलाई मुक्कुमलुङको धार्मिक तथा सांस्कृतिक महत्त्व बुझाउने विश्वास गरिएको छ । वृत्तचित्रमा केबलकार निर्माणले निम्त्याउन सक्ने वातावरणीय असर, जीवजन्तु र वनस्पतिमाथि पर्ने प्रभावलाई केन्द्रमा राखिएको निर्देशक भानु बोखिमले बताए । उनका अनुसार वृत्तचित्रले मुक्कुमलुङ आन्दोलनको कथा भनेको छ ।
प्रदर्शन कार्यक्रममा लेखक खगेन्द्र संग्रौला, किरात राई यायोख्याका उपाध्यक्ष युवराज राई, किरात याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्बापोसहित सयौ दर्शक सहभागी भएका थिए । रबिनकुमार नाल्वो र जीवनप्रकाश शेर्माले निर्माण गरेको वृत्तचित्रमा बोखिमको निर्देशन र मच्छेदेवी गुरुङको सहनिर्देशन रहेको छ ।