भारतमा बस्दै आएकी चर्चित कथावाचिका देवी प्रतिभा उर्फ प्रतिभा पराजुली नेपाल आउने भएकी छन् । प्रसिद्ध धार्मिक तीर्थस्थल चितवनको देवघाटमा हुन लागेको एक महोत्सवमा कथा वाचनका निम्ति उनी नेपाल आउन लागेकी हुन् ।
यही माघ १९ गतेदेखि २९ गतेसम्म देवघाटमा ‘शतचण्डी महायज्ञ एवं देवघाट माघ महोत्सव’ हुँदैछ । उक्त महोत्सवमा देवी प्रतिभासहित आचार्य शीतलकृष्णजी महाराजले पनि कथा वाचन गर्ने बताइएको छ । यसैका लागि उनी केही दिनमै नेपाल आउन लागेकी हुन् । काभ्रेपलाञ्चोक घर भएकी प्रतिभा गत वर्ष पशुपतिमा आयोजित एक महिने कोटिहोममा सहभागी भएकी थिइन् ।
त्यतिबेला ‘प्यार से बोलो ना, थोडा जोर से बोलो ना, मस्तीमे बोलो ना’ लगायत उनको थेगोले हजारौँ दर्शनार्थीलाई लोभ्याएको थियो । यद्यपि, श्रीमानसँगको पारपाचुके (डिभोर्स) बारे दिइएको अभिव्यक्तिका कारण उनी विवादमा तानिइन् ।
सप्ताह देवघाटको ४० वर्ष पुरानो दुर्गा पाञ्चायन मन्दिर परिसरमा हुँदैछ ।
