सबै श्रेणीहरू

बालेनसहित पाँचजना निर्वाचन आचारसंहिता उल्लंघनकर्ता

बालेनसहित पाँचजना निर्वाचन आचारसंहिता उल्लंघनकर्ता

निर्वाचन आयोगले पाँच उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं झापा क्षेत्र नम्बर ५, का उम्मेदवार बालेन्द्र साह (बालेन) सहित पाँच उम्मेदवारलाई स्पष्टीकरण सोधिएको हो । 

आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसका अनुसार श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सुनसरी–१, का उम्मेदवार हर्कराज साम्पाङ, रुपन्देही–२, का उम्मेदवार डा.कमल भुसाल (निकोलस), एमाले सचिव तथा भक्तपुर–२ का उम्मेदवार महेश बस्नेत र सोही क्षेत्रबाट उम्मेदवारी दिएकी जानुका पाठकउर्फ शोभालाई पनि स्पष्टीकरण सोधिएको छ । 

‘पब्लिक डिबेट’ (सार्वजनिक बहस) को लागि आफू तयार रहेको भनी झापा–५, का अर्का उम्मेदवार एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा राखेको पोस्टमा बालेनले ‘हत्यारा’ सँग बस्दिँन भन्दै कमेन्ट गरेका थिए । 

निकोलसले जेनजी आन्दोलनको आइकोनिक जुत्ता आफ्नो चुनाव चिन्ह भनी प्रचार गरेको, हर्क साम्पाङले चुनावी प्रचारमा बालबालिकाको प्रयोग गरेको, महेश बस्नेतले बालेनलाई ‘छाउरा’ भनेको र शोभाले आफ्ना प्रतिस्पर्धी उम्मेदवारमाथि घृणाजन्य टिप्पणी गरेको विषयमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । 

उनीहरुलाई तीन दिनभित्र स्पष्टीकरण पेश गर्ने समय दिइएको आयोगकी सहप्रवक्ता श्रीसको भनाइ छ । यसबाहेक आयोगले आचारसंहिता लागू भएपछि अनुमति नलिई अधिवेशन गर्ने स्वास्थ्य स्वयंसेवक संघ र शिक्षक सरुवाको विषयमा पनि स्पष्टीकरण सोधेको जनाएको छ ।