राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन र शान्ति सुरक्षामा खलल पुर्याउने घृणाजन्य अभिव्यक्ति बन्द गर्न आग्रह गरेको छ । केही दिनयता राजनीतिक दलका जिम्मेवार व्यक्तिहरुले एकअर्काप्रति आक्षेप लगाउने वा घृणाजन्य अभिव्यक्ति दिइरहेकोप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै आयोगले यस्तो आग्रह गरेको हो ।
आयोगले आज विज्ञप्ति जारी गर्दै यस्ता अभिव्यक्तिले अराजकतालाई प्रश्रय दिने र शान्ति सुरक्षामा समेत असर पुग्ने भएकोले ध्यान पुर्याउन सतर्क गराएको छ । ‘नेपालको संविधान र मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानूनहरुले अभिव्यक्ति तथा विचारको स्वतन्त्रताको प्रत्याभूति गरेको भएतापनि अरुको मर्यादामा चोट पुग्ने र शान्ति सुरक्षामा आँच पुग्न सक्ने विषयलाई विशुद्ध विचार र अभिव्यक्ति स्वतन्त्रताको मात्र विषय मान्न सकिँदैन । आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारमा पर्नसक्ने असरप्रति जिम्मेवार व्यक्तिले सधैँ ध्यान पुर्याउनु आवश्यक हुन्छ,’ आयोगले भनेको छ ।
संविधान, कानून र मानव अधिकारका अन्तर्राष्ट्रिय मूल्यमान्यताविपरीत घृणाजन्य अभिव्यक्ति नदिन, सामाजिक सञ्जालको मर्यादित भई प्रयोग गर्न र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आयोगले राजनीतिक दल, उम्मेदवार र आम सर्वसाधारणलाई आग्रह गरेको छ । साथै, शान्ति सुरक्षा थप मजबुत बनाउन सरकारलाई निर्देशसमेत गरिएको छ ।