आप्रवासी भिसामा कडाइ गरिरहेको संयुक्त राज्य अमेरिका नेपालको सन्दर्भमा थप कठोर देखिएको छ। नेपाल प्रहरीबाट जारी हुने चालचलन (चारित्रिक) प्रमाणपत्रप्रति प्रश्न उठाउँदै आएको अमेरिकाले यस विषयमा नेपाल सरकारसँग गम्भीर चासो व्यक्त गरेको र तत्काल कडाइ नगरे भिसा प्रक्रिया निलम्बन गर्नेसम्मको चेतावनी दिएको बुझिएको छ। आपराधिक पृष्ठभूमिका व्यक्तिहरू सहजै अमेरिका प्रवेश गरिरहेको गुनासोसहित काठमाडौँस्थित अमेरिकी दूतावासले सरोकार जनाएपछि सोमबार गृह मन्त्रालयमा यसबारे छलफल भएको थियो।
गृहमन्त्री ओमप्रकाश अर्याल, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीसहित सुरक्षा निकायका प्रमुखहरूको बैठकले अमेरिकाको सरोकार सम्बोधन गर्दै चालचलन प्रमाणपत्र जारी गर्दा थप सावधानी अपनाउने निर्णय गरेको छ। प्रहरी रिपोर्ट प्रभावकारी नभएको भन्दै दूतावासले लामो समयदेखि असन्तुष्टि जनाउँदै आएको थियो।
विद्यार्थी भिसामा जानेहरूले नक्कली बैंक स्टेटमेन्ट पेश गरेको तथ्य खुलेपछि प्रहरी रिपोर्टलाई कडा बनाउन आग्रह हुँदै आएकोमा ‘जेन–जी विद्रोह’ भनिएका भदौ २३ र २४ का हिंसात्मक घटनापछि अमेरिकी चासो झनै बढेको थियो। नेपालमा अपराधको दर बढ्दै गएको र यसबीच सरकार अत्यधिक उदार भएकै कारण जो–कोही अमेरिका पुग्न सक्ने अवस्था बनेको अमेरिकाको गुनासो छ।
नेपालमा हाल प्रहरी रिपोर्ट जारी गर्ने प्रक्रिया अत्यन्तै औपचारिक मात्र बनेको छ। अनलाइन प्रणालीमार्फत् फारम भरी स्वःघोषणा गरेपछि तत्काल प्रमाणपत्र प्राप्त गर्न सकिने व्यवस्था छ। तर यस प्रक्रियाप्रति अमेरिकासहित उसका सहयोगी मुलुकहरूले आशंका व्यक्त गर्दै आएका छन्। भदौ २४ गते कारागार तोडफोड भई ठूलो संख्यामा कैदीबन्दी बाहिर निस्किएको र सुरक्षाकर्मीका हतियार लुटिएपछि युरोप र खाडी मुलुकहरू समेत थप सशंकित भएका छन्। ती देशहरूले पनि भिसाका लागि प्रहरी रिपोर्ट अनिवार्य गरेका छन्। यही पृष्ठभूमिमा अमेरिकाको सरोकार सम्बोधन गर्दै चालचलन प्रमाणपत्रमा कडाइ गर्ने निर्णय गरिएको गृह मन्त्रालय स्रोतको भनाइ छ।
बैंकिङ्ग कसुर, सहकारी ठगीलगायत विभिन्न फौजदारी अभियोग लागेका शक्तिशाली आरोपितहरू युरोप, अमेरिका र बेलायत प्रवेश गर्ने गरेका छन्। सहज रूपमा प्रहरी रिपोर्ट प्राप्त हुने प्रक्रियाको दुरुपयोग गर्दै विदेश भागेका ठूला सहकारी ठगहरू उतै बसोबास गरिरहेको पाइएको छ। ललितपुरको सुमेरु सहकारीको अर्बौँ रुपैयाँ हिनामिना गरी फरार भएका भरत महर्जन लामो समयदेखि बेलायतमा छन्। ठूला सहकारी ठगीका अन्य आरोपीहरू पनि अमेरिका पुगेको र उतै घरजम गरेर बसेको अवस्था छ। नेपालमा अपराध गरी विदेश पुगेकाहरू त्यहाँ पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न देखिन थालेपछि प्रहरी रिपोर्टमा कडाइ गर्न नेपाल सरकारमाथि अन्तर्राष्ट्रिय दबाब बढेको हो।