सबै श्रेणीहरू

चीमबाट गएका, चिलिम नपाएका

चीमबाट गएका, चिलिम नपाएका

जनादेश भन्दै रास्वपा, बालेन साह र कुलमान घिसिङ मिल्दा एउटा समूह निकै उत्साहित भएको थियो । रास्वपाले सुरुमा कुलमान एक्लैलाई प्रधानमन्त्रीको उम्मेदवार तथा वरिष्ठ नेता वा पहिलो वरियताको उपसभापति स्वीकार्न हारगुहार गरेको थियो । सुरुमा रास्वपा प्रधानमन्त्रीको उम्मेदवार नतोकी चुनावमा जान लागेकोमा निकै छटपटिएको थियो । 

बालेन तत्काल चुनावमा नजाने र रवि लामिछानेलाई नेता नस्वीकार्ने स्थिति भएकोले जसरी पनि कुलमानलाई भित्राउनुपर्ने दबाबमा रास्वपा थियो । उता कुलमानले आफू जसरी पनि चुनावपछि प्रधानमन्त्री बन्ने सम्भावना देखेर रास्वपाको उक्त प्रस्ताव स्वीकार गरेनन् । बरु तेतिबेला काठमाडौंका मेयरलाई आफ्नो पक्षमा पार्न सफल भए । त्यसपछि कुलमान उच्च मनोबलका साथ देश दौडाहामा लागे । उनको छायाँ पार्टी उज्यालो नेपाल पार्टी पनि राम्रै गतिमा अघि बढेको थियो ।

तर रवि जेल बाहिर आएपछि भने परिस्थिति फेरियो । रवि बाहिर आउलान् भन्ने कल्पनासम्म पनि कुलमानले गरेका थिएनन । उनी बाहिर आउँदैमा पनि कुलमानले धेरै दबाब महशुस गरेका थिएनन । तर बालेन र रवि मिलेपछी भने कुलमान निरन्तर दबाबमा परे । तीब्र गतिमा बढिरहेको उनको पार्टीको विस्तार रोकियो ।

रास्वपा संगको एकतापछि केही मान्छे उतै बसे । उज्यालोले आफ्नो छुट्टै समानुपातिक सूचीसमेत बुझाउन पाएन । समानुपातिक मतपत्रमा चिन्ह नलिई चुनावमा होमिएको छ । रास्वपाले उज्यालोको एक सिट आउँदैन भने पनि उज्यालोको आन्तरिक जोडघटाउ भने अलि बल गर्दा १५ अन्यथा ७–१० सम्म सजिलै आउने जोडघटाउ छ ।

यसबीच १५ जनाले औपचारिक रुपमा उज्यालो नेपाल पार्टी छोडेको समाचार बाहिरिएपछि कुलमानको टिममा भने लामो हाँसो छाएको बताइन्छ । वास्तविकता चाँही ती १५ जना उज्यालोमा प्रभावशाली केन्द्रीय सदस्य थिए । तर रास्वपासँग एकता भंग भए पछी भने उतै बस्ने निर्णय गरे । 

ती सबै कुलमानको सबैभन्दा नजिकका थिए । उनीहरुमध्ये केहीले सहरी विकास, ऊर्जा  र भौतिक पूर्वाधार मन्त्रालयबाट प्रोजेक्ट समेत हात पारेको बताइन्छ । तर ती १५ जना एकताको नाममा कोही समानुपातिक जोगाउन र केही प्रत्यक्षको टिकट पाउने आसमा रास्वपा बसेका थिए । 

शुरुमा कुलमानलाई क्षति देखाउन रवि, स्वर्णिम र डिपीहरुले बस्न आग्रह गरेपनि खस आर्य महिला कोटाबाट सरला लामिछानेको नाम पनि काटियो । दलित क्लस्टरमा रीमाको बाहेक अरुको रास्वपाले समानुपातिकमा राखेन । कतिसम्म भने अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई भदौ २४ गते घर लैजाने क्रेडिट पाएका डा. अभिषेक सिंह समेतको नाम मधेसी कोटाबाट काटियो । उनी आफुलाई डा. गोविन्द केसीको असिस्टेन्ट  बताउँथे । 

हालै हटेका खेलकुदमन्त्री बब्लु गुप्ताले पनि उनको नाममा अडान लिएका थिए । आफुलाई बालेनको नजिक भनिएपनि नाम काटियो । डा. अभिषेकले बब्लु गुप्ताबाट खेलाडीको हस्पिटल बनाउने एउटा रिसर्च प्रोजेक्ट समेत पाएका थिए । डा. तारा जोशीले डडेल्धुरामा प्रत्यक्षमा टिकट पाए पनि त्यो आफ्नै हाइटले पाएको भनिन्छ । पीएचडी डाक्टर उनी वहालवाला प्रदेश सांसद भएकाले आफ्नै हैसियतका कारण टिकट पाएको उनको दाबी छ । 

अर्को टिकट पाउनेमा बारा २ मा तयारी गरिरहेका तरपछि बारा ३ मा टिकट पाएका खल्तीका सहसंस्थापक अरविन्द साह हुन् । साहलाई नै टिकट बेचेको भनेर उनको क्षेत्रका रास्वपा कार्यकर्ताले विरोध गरेका थिए । यसपटक हारको ह्याट्रिक हुन नदिने भन्दै जोसिएका निर्देश सिलवाल पनि हिस्सिएका छन् । उनलाई रास्वापा बस्न झन् पेचिलो भएको छ । 

विवेकशील साझाबाट आएको भए पनि उज्यालोमा आउँदा सानो टिममा आएका थिए । तर विवेकशील साझा नै रास्वपा जाँदा उनलाई घुमाउरो र लामो बाटो लिनु परेकोमा अफ्ठेरो महशुस भएको छ । एकताको पक्षमा सबैभन्दा चर्को उभिएका अर्का हुन् इन्जिनियर शंकर ढकाल । उनी यसपटक जसरी पनि काभ्रे २ मा चुनाव लड्ने पक्षमा थिए । उज्यालोबाट आएर रास्वपामै बसेका सबैलाई आफुले ल्याएको बताएर टिकट लिने पक्षमा थिए । उनले आफुले टिकट पाएमा अझ धेरै मान्छे उज्यालोबाट ल्याउने समेत बताएका थिए । तर टिकट नपाएपछि भने उनी पनि शिथिल देखिन्छन्।

हिजोआज उनी छतमा घाम तापेर बस्न थालेका हुन् । त्यसरी नै एमाले छोडेर उज्यालोमा जम्मा २ हप्ता केन्दीय सदस्य बनेका विशाल गैरेपनि यता न उताका भएका छन् । उनको विशाल ग्रुप अफ कम्पनीज छ तर त्यसले कतै लगानी भने गर्दैन । डा.विशाल भण्डारी पनि रेडक्रसको समानान्तर कमिटि गठन गरेर अध्यक्ष भएका थिए । उनले पनि दोलखाबाट टिकट पाएनन् । 

आफुलाई कर्णालीबाट टिकट देलान भन्दै अन्तिम समयमा उज्यालो छाडेका मिनराज आचार्यले पनि केहि पाएनन् । सुरुदेखि नै उज्यालोमा कम सक्रिय राजिया बानु, कुशुम घिमिरेलाई भने रास्वपाले नेता नै नगनेको हो । आफुले प्रस्ताव गरेको महिला सरला लामिछानेको नाम समानुपातिकमा परेपछि संजिव भट्टराईले पनि उज्यालो छोडेका थिए तर उनी स्वयम् अहिले घर न घाटका भएका छन् । 

देवेन्द्र श्रेष्ठ जो पहिले काठमाडौंको वडा १६ मा मुकुन्द रिजाल बितेपछि भएको उपचुनावमा उम्मेदवार थिए । उनले पनि टिकटको आसा गरेर उज्यालो छोडेका थिए । तर काठमाडौँ ७ मा पहिले नै जितेका गणेश पराजुली हुँदाहुँदै देवेन्द्रलाई छोड्ने कुरा थिएन । उनलाई गणेशले अबको वडाध्यक्षको टिकट पक्का भनेर थामथुम गरेको बुझिन्छ । 

डकेन्द्र सिङ थेगिमले चाहि पार्टीको उपाध्यक्ष अपेक्षा गरेका थिए । तर उनलाई कुलमान र उनको नजिकको टिमले एउटा मामुली केन्द्रिय सदस्य मात्र ठान्यो ।उज्यालोले बलियोसँग कोशी प्रदेशको एजेन्डालाई नसमातेपछि उनी मुद्दाको आधारमा पनि बस्न सक्ने ठाउँ देखिँदैन । बरु डकेन्द्र सिंहलाई देखाएर डा. महेन्द्र लावतीले उपाध्यक्ष बन्न कसरत गरेपछि भने डकेन्द्र झस्किएको बताइन्छ । 

सिंहको छोरा एकदेवले बाउलाई बालेनसँग जोड्न खोजेका थिए । ज्वागलमा कुमार बेनको घरमा एकदेवले बाउ र बालेनको भेटघाट गराएका थिए । तर उज्यालोले पनि नबोकेको पहिचानको मुद्दा बालेनले झन् नबोक्ने डरको कारण डकेन्द्र बालेन तिर लागेनन् । बालेनसँग जाँदा पहिचानको मुद्दा बोकेर पूर्वमा बलियो भएको श्रम संस्कृतिले झन् लखेट्ने सम्भावना थियो । तसर्थ उनी दलमा नलागी पहिचानको आन्दोलनमै स्वतन्त्र बस्न रुचाए । 

कुनै राजनीतिक हाइट नभएका र एक समय महावीर पुनको आविष्कार केन्द्रमा काम गरेका डा. इन्जिनियर सागर ढकाल पनि उज्यालोबाट रास्वपा लागे । तर रास्वपाले उनलाई सामान्य नेताको रुपमा पनि गनेको देखिँदैन । उनी बेतलबी र अघोषित स्वकीय थिए निवर्तमान शिक्षामन्त्री महावीरको । हुलमूलमा नेता बन्न पाइन्छ कि भन्दै माओबादी छोडेर उज्यालो आएर रास्वपा गएका मिनराज आचार्य पनि संघीय नेतृत्व मंच भन्ने पार्किंग लटमा अटाएको देखिन्छ । उज्यालोबाट रास्वपा गएका र अन्यत्रबाट आएकाहरुलाई भने ‘फेडरल लिडरशिप फोरम’ भन्ने पार्किंग लटमा थन्काइएको छ ।