कांग्रेस नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित मुछिएको टेरामक्स खरिदसम्बन्धी भ्रष्टाचार प्रकरणमा विशेष अदालतले उपकरणहरुको प्राविधिक परीक्षण गर्न आदेश दिएको छ ।
न्यायाधीशहरु नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा आज भएको सुनुवाईपछि उच्चस्तरीय विज्ञ समूह गठन गर्दै उपकरणहरुको गुणस्तर र खरिद प्रक्रिया सम्झौताबमोजिम भए–नभएको सम्बन्धमा प्राविधिक परीक्षण गर्न आदेश भएको हो ।
विज्ञ समूहमा पुल्चोक इन्जिनियरिङ क्याम्पसका वरिष्ठ इन्जिनियर (संयोजक) र टेलिकम्युनिकेसन एण्ड इलेक्ट्रोनिक्स विषयका विज्ञ प्राध्यापक, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का विषय विज्ञ, अख्तियार दुरुपयोग दुरुपयोग अनुसन्धान आयोगका टेलिकम्युनिकेसन विज्ञ केशव ज्ञवाली र आपूर्तिकर्ता कम्पनीका प्रतिनिधि छन् ।
आदेशमा भनिएको छ, ‘उल्लेखित प्रविधि तथा सामग्रीहरु खरिद सम्झौताबमोजिमको भए नभएको सम्बन्धमा उक्त टोलीद्धारा प्राविधिक परीक्षण गराई प्रतिवेदनसहित पेश गर्नू ।’ विशेषले टेरामक्स खरिद प्रक्रियासँग सम्बन्धित सक्कल फाइल दूरसञ्चार प्राधिकरणबाट झिकाउन पनि भनेको छ ।
बस्नेत सञ्चारमन्त्री छँदा नेपाल दूरसञ्चार प्राधिकरणको ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) उपकरण खरिदमा ३ अर्ब २१ करोड ८३ लाख रुपैयाँ घोटाला भएको अख्तियारको ठहर छ । यस प्रकरणमा बस्नेतसहित १६ जना मुछिएका छन् ।

