राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको खुट्टामा चोट लागेको छ । गत माघ ५ गते जनकपुरमा सम्पन्न कार्यक्रममा उनको देब्रे खुट्टामा सामान्य चोट लागेको हो । राजधानीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत उनको छालाको भित्री तहमा संक्रमण भएको स्वकीय सचिव अभिनाश आचार्यले बताए ।
उनले जारी गरेको सूचनामा भनिएको छ,‘त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल,महाराजगञ्जका चिकित्सकहरुको परीक्षण तथा सल्लाहअनुसार यस प्रकारको संक्रमण जोखिमयुक्त हुनसक्ने भएकाले केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखी उपचार गराउनु अनिवार्य भएको छ । त्यसैअनुसार सभापतिज्यू हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत हुनुहुन्छ ।’
रविको खुट्टामा प्लास्टर गरिएको तस्बिरहरु यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । तस्बिरमा दाहिने खुट्टामा प्लास्टर गरेको देखिन्छ । स्वास्थ्यजस्तो संवेदनशील विषयमा पनि भ्रम फैलाइएको भन्दै धेरैले विरोध गरिरहेका छन् । एक जना सामाजिक सञ्जाल प्रयोगकर्ता लेख्छन्,‘स्वास्थ्यजस्तो संवेदनशील कुरामा एआई तस्बिर कुदाएर भ्रम फैलाउने काम नगरौं ।’