नेपाल रिपब्लिक मिडिया लिमिटेडद्धारा सञ्चालित नागरिक दैनिक पत्रिकाको कार्यालयमा नेपाल पत्रकार महासंघले तालाबन्दी गरेको छ । गत साउनमा भएको सम्झौता कार्यान्वयनका निम्ति दबाब दिँदै महासंघले आज लिमिटेडको व्यवस्थापन कार्यकक्षबाहिर ताला लगाएको हो ।
‘यही माघ ४ गतेदेखि धर्नालगायतका आन्दोलन गर्दासमेत लिमिटेड व्ववस्थापन वार्ता, संवादमार्फत सहमति कार्यान्वयनमा लचक नदेखिएपछि महासंघ तालाबन्दीको बाध्यतामा पुगेको हो,’ महासंघले भनेको छ । श्रम समस्यालाई लिएर महासंघ र लिमिटेडबीच गत साउन २२ गते सम्झौता भएको थियो ।
तर, हालसम्म ती सम्झौता कार्यान्वयन नभएको महासंघको भनाइ छ । त्यसका लागि पटकपटक वार्ता, संवाद र सहमतिको पहल गर्दै आएपछि महासंघको विनम्रता र अनुरोधलाई कमजोरी ठानेर बेवास्ता गरिएकोले आन्दोलन थालिएको विज्ञप्तिमा जनाइएको छ ।
सहमति कार्यान्वयन नभएसम्म आन्दोलन जारी राख्ने महासंघको अडान छ । महासंघले शुक्रबार देशभर रहेका आफ्ना प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थालाई सम्झौता कार्यान्वयनमा दबाब दिन लिमिटेड व्यवस्थापकको मोबाइलमा ‘एसएमएस’ पठाउन पनि निर्देशन दिएको छ ।