जयपुरीको नाम, रोल्पाली कमरेडहरुको काम

‘कमरेड नमूना’ अर्थात् जयपुरी घर्तीको एउटा जीवनमा कैयौँ कथा छन् । युद्धकालदेखि आजसम्म मनभित्र थुप्रिएका अनगिन्ती तीतामीठा अनुभूतिहरू छन् ।
उनी घर–परिवार छाडेर युद्ध मैदानमा उत्रिइन् । विद्रोहको शिखरमा क्रान्तिकारी पात्र बनिन् । अनि आफ्नो तर्फबाट पार्टी संगठनमा महत्वपूर्ण भूमिका निर्वाह गरिन् । राजनीतिक यात्रामा लाखौँ ‘कमरेड’ भेटिन् ।
रोल्पादेखि भारतसम्म पार्टी संगठनको काममा खटिइन् । १० कक्षा पढ्दै गर्दा सार्वजनिक मुद्धा खेपेकी उनी लगत्तै भूमिगत भइन् । विभेदविरूद्ध विद्रोह गरिन् । दलित, आदिवासी,जनजाति र महिला अधिकारको वकालतमा लागिन् ।
नेकपा (मशाल) हुँदै नेकपा (माओवादी) को राजनीतिमा प्रवेश गरिन् । अनि जनआवाज बनेर संघर्षमा उत्रिइन् । ‘नमूना दिदी माओवादी आन्दोलनको ऐतिहासिक पात्र हुनुहुन्छ । पार्टी निर्माणमा उहाँको ठूलो योगदान छ । रोल्पा–रुकुम उहाँको राजनीतिक भूगोल हो । रोल्पाले दिदीलाई खोजिरहेको छ,’ माओवादी केन्द्र रोल्पाका एक सदस्यले भने ।
जयपुरीले आजसम्म नेपाली राजनीतिमा इमान्दार र वर्गीय नेत्रीको छवि बनाएकी छन् । उनी परिवारवादमा डुबेकी छैनन् । अवसर खोज्दै दौडिइनन् । बरू पार्टीभित्रका नेताबाटै किनारामा पारिइन् ।
हजारौँले जनयुद्धमा परिवारको सदस्य गुमाएका छन् । जयपुरीले पनि विद्रोहको बिगुल फुक्दै हिँडिरहेका आफ्ना प्रिय श्रीमान अर्थात् कमरेड ‘विवेक’ (कविराम केसी) गुमाइन् । पति वियोगको पीडा भुलेर उनी हप्ता दिन नबित्दै पार्टीको काममा खटिइन् ।
‘जयपुरीजी निर्भिक र निडर नेता हुनुहुन्थ्यो । आज पनि उहाँको जीवनशैली सरल छ । पार्टीको काममै हुनुहुन्छ । कमरेड विवेक शहीद बनेको केही दिनमै संगठन निर्माणमा लाग्नुभएको थियो । त्यो दृश्य अध्यक्ष कमरेड प्रचण्डलाई अझै पनि याद छ,’ भारत प्रवासमा जयपुरीसँगै काम गरेका माओवादी केन्द्रका एक पोलिटब्यूरो सदस्य बताउँछन् ।
१० वर्षे जनयुद्धले चर्चामा पुर्यायो । अनि आजभोलि गुमनामझैँ देखिन्छिन्,उनी । रोल्पाको पाछावाङमा मारिएका हुन्,जयपुरीका श्रीमान विवेक । त्यो बेला माओवादी नेत्री जयपुरी भारत प्रवासमा थिइन् । पार्टी काममा खटिएकी थिइन् । संगठन निर्माणमै थिइन् ।
उनी माओवादी आन्दोलन थप बलियो र प्रभावकारी बनाउने अभियानमा थिइन् । युद्धलगत्तै उनी रोल्पा–रुकुमपूर्वको पार्टी काममै लागिन् । रोल्पाबाट पहिलोपटक सभासद बनिन् ।
१० वर्षे जनयुद्धले जन्माएकी ‘नमूना’ नेपाली राजनीतिको रंगमञ्चमा साँच्चै ‘नमूना’ बनेकी छन् । उनी पद र लोभभन्दा टाढा देखिन्छिन् । वर्गीय राजनीतिको राजमार्गमा हिँडिरहेकी छन् । तर माओवादी शीर्ष नेतृत्वको समीपमा छैनन् । रोल्पादेखि काठमाण्डूसम्म उपाध्यक्ष कृष्णबहादुर महरा र उपमहासचिव वर्षमान पुनको टुक्रे समूहबाट पेलिएकी बताइन्छ ।
‘जयपुरी कमरेडलाई रोल्पाली जनताले खोजेका छन् । पैसाको धाक लगाउँदै रोल्पाबाट प्रतिनिधिसभामा रोक्ने काम नगरियोस् । रोल्पाबाट अब उहाँको पालो हो । अध्यक्ष प्रचण्ड,उपाध्यक्ष महरा सरले जयपुरी कमरेडलाई अघि सार्नुपर्छ,’ माओवादी केन्द्र लुम्बिनी प्रदेशका एक पदाधिकारीले भने ।
त्यसो त जयपुरी अस्तिसम्म सदनमै थिइन् । प्रतिनिधिसभा सदस्यसँगै शिक्षा तथा स्वास्थ्य समितिको नेतृत्व गरिन् । उनको भूमिका र योग्यताप्रति चारैतिर प्रशंसा भयो । तर यसपालि समानुपातिक होइन,रोल्पाबाट प्रत्यक्षमै भिड्ने अनि जित्ने सोचमा छिन्, उनी ।
उनी एक समय ‘१३ दिने मन्त्री’ पनि बनिन् । नाम मात्रको मन्त्री भएकी उनले अर्कोपटक मन्त्री पद पनि मागिनन् । बरू, पार्टी काममै खटिइन् । माओवादी केन्द्रकी शीर्ष नेत्री जयपुरी सुप्रिमो प्रचण्ड र वैद्य विभाजन हुँदा वैद्यतिर लागिन् । अनि वैद्य र विप्लव फुट्दा प्रचण्डतिरै फर्किइन् । उनी माओवादी एकताको पक्षधर हुन् । माओवादी आन्दोलनको संरक्षक हुन् ।
‘जयपुरी दिदीलाई पहिले रोल्पाले रोज्यो,अहिले फेरि रोल्पाले खोज्यो । उहाँ सभासद बन्नुभयो, रोल्पाली जनताले रोजे । यसपालि रोल्पाबाटै चुनाव लड्नुहुन्छ । लड्नुपर्छ । महरा सरको निर्वाचन क्षेत्र दाङ छ । वर्षमान कमरेडले यसपटक रोल्पा छाड्नुपर्छ,’ माओवादी केन्द्र माडी गाउँपालिकाका एक शीर्ष नेता भन्छन् ।
टिप्पणीहरू