उपत्यकाका नाकाहरूमा डरलाग्दो लर्को

उपत्यकाका नाकाहरूमा डरलाग्दो लर्को

लकडाउनको पैँतालिस दिनसम्म पनि काठमाडौं उपत्यका वरिपरिका नाकामा सवारी साधन र मानिसको चाप उस्तै छ । कोरोना संक्रमण रोक्न गरिएको लकडाउनमा राजधानी भित्रिने र बाहिरिने मानिसको संख्या दैनिक औसत चारदेखि पाँच हजार रहेको बताइन्छ । तर यससम्बन्धी अभिलेख र अनुगमनको भरपर्दो प्रणाली छैन । यसले सुरक्षित ठानिएको राजधानीलाई कोरोना संक्रमणको थप जोखिममा पुर्याएको आशंका गरिएको छ ।

हिजो मंगलबार बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म थानकोट र फर्पिङ्ग नाकामा देखिएको सवारी साधन र यात्रुको लर्कोले उक्त आशंकालाई पुष्टि गरेको छ । नागढुंगाबाट ३ वटा बस, २ सय ९३ वटा ट्रक, मोटरसाइकल ६७, एम्बुलेन्स २९ वटा र अन्य हलुका सवारी ९२ वटा भित्रिएका थिए । त्यसैगरी ७ वटा बस, २ सय ३२ वटा ट्रक, ७० वटा मोटरसाइकल, ५२ वटा एम्बुलेन्स र २ सय ८९ वटा हलुका सवारी बाहिरिए । ट्राफिक प्रहरीकाअनुसार सो अवधिमा ६ सय ५० वटा सवारी साधनबाट अठार सय ९७ जना राजधानी भित्रिए । ४ सय ८४ वटा सवारी साधनबाट एघार सय जना बाहिरिए ।

उता, फर्पिङ्ग नाकाबाट पनि सोही समयमा हलुका सवारी साधन ८ वटा, मोटरसाईकल ४ वटा, सरकारी गाडी ५ वटा गरी १७ वटा सवारी साधनबाट ६८ जना भित्रिए । २६ वटा सवारी साधनबाट ३७ जना बाहिरिए ।

भक्तपुरको साँगा नाकाबाट पनि ठूलै संख्यामा मानिस र सवारी साधनको ओहोरदोहोर भइरहेको छ । औसतमा उक्त नाकाबाट दैनिक आठ सयदेखि एक हजार जना मानिस भित्रिने गरेको अनुमान छ । त्यसैगरी, बालाजुको मुड्खु, शिवपुरी राष्ट्रिय निकुञ्जको चिसापानी भञ्ज्याङ्ग, साँखुपूर्वको जरसिंहपौवा र ललितपुरको टिकाभैरवबाट छिर्ने र जानेको संख्या पनि कम छैन ।

टिप्पणीहरू