ईश्वर र अछामी नै रावलविरुद्ध लागेपछि...
डा. भीमबहादुर रावलमाथि कारबाही गराउनमा कुनै बेला रावलले नै पक्षपोषण गरेकाहरू सक्रिय भएको पाइएको छ ।
खासगरी नवौं महाधिवेशनमा ईश्वर पोख्रेललाई महासचिव बनाउन रावलले सहयोग गरेको चर्चा सेलाएको छैन । माधव नेपाल समूहमा रहेका रावलले ओली समूहका पोखरेललाई सहयोग गरेपछि झिनो मतले जितेको प्रसंग अहिले पनि चल्ने गरेको छ । हुन पनि रावलले सहयोग गरे कि गरेनन् तर उनीनिकट केही नेता त्यतिबेला खुलेरै पोख्रेललाई जिताउन लागिपरेका थिए । त्यही कारण माधव समूहका सुरेन्द्र पाण्डे झिनो मतले महासचिवमा पराजित भए ।
यसपटक रावललाई कारबाही गराउन तिनै ईश्वर पोख्रेलले चर्को भूमिका खेलेका पाइयो । बरु अध्यक्ष केपी शर्मा ओली अलिकति नरम थिए तर दुई पोख्रेल (महासचिव शंकरसमेत) र उपमहासचिव विष्णु रिमाल कडा रूपमा प्रस्तुत भएको एमाले स्रोतको भनाइ छ । उपाध्यक्ष विष्णु पौडेल पनि आफ्नाविरुद्ध अछाममा नाराबाजी भएकाले रुष्ट थिए ।
कारबाही गर्नुपर्ने अर्को कारण चैँ अछाम जिल्ला अधिवेशन पनि हो । तीन वर्षमा हुनुपर्ने अधिवेशन अहिलेसम्म भएको छैन । रावल पक्ष नै जित्छ भनेर अधिवेशन हुन दिइएको छैन । केही साताअघि अधिवेशन भएका डोटी र बझाङमा संस्थापन विरोधीले जिते अछाममा पनि अब त्यस्तै हुन्छ त्यसैले रावललाई कारबाही गर्नुपर्छ र अधिवेशन गर्नुपर्छ भन्दै दबाब दिनेमा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्ट, केन्द्रीय सदस्यहरू झपट बोहरा, यज्ञ बोगटी, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसी, जिल्ला अध्यक्ष चन्द्र बोहरालगायत रहेको बताइन्छ ।
रावलले के गर्छन् अब ?
सदस्यबाटै हटाएपछि डा. रावललाई भेट्न जानेमा सुदूरपश्चिम र कर्णालीका धेरै छन् । रावललाई एमाले केन्द्रीय कमिटीको बैठकअघि पार्टी खोल्न नहुने सुझाव पनि दिने गरिएको छ । रावलमाथिको कारबाहीलाई स्थायी समिति सदस्य कर्णबहादुर थापालगायतले घुमाउरो पारामा सामाजिक सञ्जाल फेसबुकबाट विरोध गरेका छन् ।
रावलले नयाँ पार्टीको आकार दिन तीन महिनासम्म लगाउने सम्भावना छ । उनलाई भेट्नेहरूका अनुसार पार्टीको नाम समाजवादी र प्रजातान्त्रिक विचारलाई ध्यान दिएर राखिने सम्भावना छ । रावलको पार्टीमा एमालेबाट को–को जान्छन् टुंगो लागेको छैन । तर, सेना र प्रहरीका रिटायर्डहरू धेरै लाग्छन् भन्ने अनुमान छ । शेरबहादुर देउवाले कारबाही गरेका डडेल्धुरा कांग्रेसका पूर्वसभापति कर्ण मल्ल भने रावलले नयाँ पार्टी खोल्ने भएपछि हौसिएका छन् । उनी लामो समय देउवाको सचिवालय र ०७४ का प्रदेशसभा सदस्य पनि थिए ।
अर्कोतिर गत चुनावमा सुदूरपश्चिममा प्रतिनिधि सभाका १६ मध्ये दुई र प्रदेशका ३२ मध्ये चार सिट जितेको एमाले अझ खुम्चिने चिन्ता गर्न थालिएको छ ।
टिप्पणीहरू