फेरि नेकपामा आउनलाग्यो फसाद

फेरि नेकपामा आउनलाग्यो फसाद

सत्तारुढ नेकपाको २० गतेको सचिवालय बैठकमा पार्टीका सबै आन्तरिक किचलो साम्य भयो,अब पार्टी पुरानै लयमा चल्छ भन्ने विश्वासमा रहनेका लागि अर्को झड्का आइलागेको छ। भोलि २५ गतेबाट शुरु हुने भनिएको स्थायी कमिटीको बैठकपूर्व सरकार पक्षधर र विरोधी कित्ताका नेताबीच छलफलको क्रम पनि उत्तिकै छ । त्यसैले २० गते साम्य भएको भनिएको नेकपाको विवाद जम्मा पाँच दिन, अर्थात् भोलि २५ गतेसम्मका लागि मात्र रहेछ भनेर बुझ्न थालिएको छ ।पूर्वमाओवादी र पूर्व एमालेका २० भाइ स्थायी कमिटी सदस्यमध्ये कार्यब्यवस्था समितिको मिटिङ्गका कारण प्रमुख सचेतक देव गुरुङबाहेक मंगलबार बेलुकी १९ जनाको भेला बानेश्वरमा सम्पन्न भयो । गृहमन्त्री रहनुभएका रामबहादुर थापा (बादल) ले हिजो बिहान खुमल्टार पुगेर ‘एउटै क्याबिनेटमा बसेर कसरी राजीनामा माग्नु रु’ भन्न थालेपछि उहाँलाई ती २० भाइमा सहभागी गराइएको छैन ।

मंगलबार नै उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष प्रचण्डलाई फोन गर्नुभयो र आज बिहान भेट्न जानुभयो ।संक्षिप्तमा कुरा भए । सार थियो, केपीको रवैया ठीक भएन । भोलिदेखिको स्थायी कमिटी बैठकमा वामदेवले फेरि प्रचण्ड–माधव पक्षमा आफूलाई पेश गर्ने सम्भावना छ ।
प्रधानमन्त्री केपी ओलीले हिजो वरिष्ठ नेता झलनाथ खनालसँग दुई घण्टा १५ मीनेट पूरै समय भावनात्मक कुरा गरेर बिताउनुभयो ।

कुराको सार थियो, ‘सबै उनीहरु (प्रचण्ड–माधव) ले बिगारे ।’अनि,प्रधानमन्त्रीले प्रचण्डसँग भेट्दा आफूले वामदेवलाई प्रधानमन्त्री र माधवलाई तेस्रो अध्यक्ष प्रस्ताव गरेको कुरा केवल ‘विवाद न्यारो डाउन गर्नलाई पो हो’ भन्नुभयो । ‘कहाँ म छोड्छु र ?  न प्रधानमन्त्री छोड्छु न अध्यक्ष’, प्रधानमन्त्रीले यसै भन्नुभयो ।

सोमबारको भेटमा प्रधानमन्त्रीको प्रस्ताव थियो, एउटा विज्ञप्ति निकालेर स्थायी कमिटी बैठक रोकौँ भन्ने । र,त्यही भेटमा उहाँले पूर्वआइजिपी सर्वेन्द्र खनालहरुको अख्तियारमा नियुक्ति पनि सकिहालौँ भन्नुभयो । सर्वेन्द्रको प्रसंग त सरकारका मन्त्री र सुरक्षा प्रमुखहरुको छलफलमै निकाल्नुभयो । उहाँले लकडाउन कडाइ नगरिएको सन्दर्भ झिक्दै सुरक्षा प्रमुखहरुलाई भन्नुभयो, ‘सर्वेन्द्रजस्तो मान्छे हुनुपर्छ । तपाईंहरुले के गरेको यो ?’ सुराकीको साथ प्रधानमन्त्रीले नेताहरुका पछाडि १०/१० जनाका दरले राष्ट्रिय अनुसन्धानका सुराकी खटाउनुभएको आरोप नेताहरुले लगाएका छन् ।प्रचण्डसँगको भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ‘तपाईंहरु फलानो ठाउँमा भेला भएर यति घण्टा,उति घण्टा कुरा गर्ने ?’

मंगलबार माधव,प्रचण्डहरुको भेट हुँदा पनि यो कुरा उठ्यो । ‘यतिसम्म गर्ने भएपछि हामीचाहिँ किन चूप लाग्ने रु राजीनामा मागेरै जाने हो’, भेटको निश्कर्ष थियो । मंगलबारको बानेश्वर भेलामा सबैले प्रधानमन्त्रीको रवैया चित्तबुझ्दो नरहेकै कुरा राखे। स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले भन्नुभयो, ‘हामीले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि चाल्नुपर्ने कदम, सरकारका कारण पार्टीमा परेको नकारात्मक प्रभाव, सरकारको काम गर्ने शैलीको विषयमा छलफल गरेका छौँ । अहिले नै प्रधानमन्त्रीको राजीनामा भनेका थिएनौँ ।’

उक्त समूहले प्रधानमन्त्रीको शैली,सच्चिएर काम गर्ने प्रतिवद्धतालगायतलाई हेरेर बिहीबारदेखि शुरु हुने स्थायी कमिटी बैठकमा प्रस्तुत हुने निर्णय गरेको छ । गजुरेलले भन्नुभयो, ‘हामीले उहाँ र उहाँपक्षीय साथीहरुको प्रस्तुति हेरेर बैठकमा प्रस्तुत हुने छलफल गर्यौँ । सरकारको कामले पार्टीलाई ठूलो क्षति पुगेको छ । पार्टीलाई रसातलमै पुर्याउने काम भएको छ । कोरोनाविरुद्धमा भन्दा सरकारको ध्यान अन्यत्र गयो भन्नेमा हामी एकमत छौँ ।’ उक्त भेलामा सहभागी अर्का एक नेताले जनआस्थालाई भन्नुभयो, ‘सरकार भ्रष्टाचारमा संलग्न,अपहरण र गुण्डागर्दी गर्नेलाई प्रोत्साहित गर्दैछ ।

अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले छानवीन नगरी तिनलाई जोगाउने काम गर्नुभयो । यस्तो बेलामा आफ्नो र अर्काको पार्टी फुटाउने गरी अध्यादेश ल्याइयो । सरकारले कोरोनाको बलियोसँग परीक्षण गर्न पनि सकेको छैन । प्रधानमन्त्री सच्चिएर अगाडि जाने प्रतिवद्धतामा अडिग रहनु भएन । त्यसैले पार्टी अध्यक्ष र प्रधानमन्त्रीको विकल्प खोज्नुपर्छ । संस्थागतभन्दा आसेपासेका भरमा निर्णय हुन थालेको छ ।’ भेलामा गएका नेताहरुले चर्चा गरे, ‘सरकारमा सहभागी मन्त्रीहरु नै विभिन्न प्रकारका भ्रष्टाचारमा संलग्न भएको विषयमा पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीले छानवीनसमेत नगरी त्यस्तै आरोप लागेका व्यक्तिलाई थप जिम्मेवारी दिनुभएको छ । आफ्नो र अर्काको पार्टी फुटाउनका लागि सांसद अपहरण गरियो,यसबाट पार्टी बद्नाम छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा जनताको बलियो साथ रहँदा पनि प्रभावकारी परीक्षण गर्न सरकारले सकेको छैन । सरकारकै कामले आमनगरिकमा पार्टीको छविमा नकारात्मक असर परेको छ ।’ उनीहरुले बालुवाटार बस्ने राजा,अरुचाहि दासजस्तो ब्यहोरा सहनयोग्य नभएको निश्कर्ष निकालेका छन् ।

‘बालुवाटारमा बसेर अन्य इमान्दार नेता र कार्यकर्ताविरुद्ध जे पायो त्यो गर्नुहुँदैन । त्यसैले हाम्रो निश्कर्ष,उहाँको विकल्प नै हो,एक पद नछाडी दुबै पदबाट बिदा हुनुपर्नेमा भेलामा सहभागी हामी १९ जना नै एकमत छौँ’, भेलाको निर्णय जनआस्थालाई सुनाउँदै एक नेताले बताए ।

यो भेलाले अध्यक्ष तथा प्रधानमन्त्रीबाट फेरि बैठक टार्ने हो भने बजेट असफल बनाउनेमा लाग्ने निश्कर्ष निकालेको छ । बहुमत सदस्य सहभागी भएनन भने बजेट प्रस्तुत र पारित हुन सक्दैन । र, त्यो असफल भयो भने नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ ।

टिप्पणीहरू