प्रधानमन्त्रीको घडीबारे समाजशास्त्रीको टिप्पणी

प्रधानमन्त्रीको घडीबारे समाजशास्त्रीको टिप्पणी

समाजशास्त्री निर्मला ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीले बायाँ हातको नाडीमा लगाउनुभएको महँगो घडीबारे सामाजिक सञ्जालमा टिप्पणी गरेकी छन् । उनले प्रधानमन्त्री ओलीले लगाउनुभएको घडीको मूल्य जनआस्था साप्ताहिकलाई उद्धृत गर्दै २ लाख १५ हजार डलर लेखेकी हुन् ।

ढकाल लेख्छिन्, ‘२ लाख पन्ध्र हजार डलरको घडी भन्छ त । हुन त प्रचण्डले लाउन हुने,मैले नहुने भनेर कम्पिटिसन गर्या पनि हुन सक्छन् ‘बा’ ले ।’ उनको लेखाइको अर्थ नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिको गरेर प्रधानमन्त्री ओलीले पनि निकै महँगो घडी लगाउनुभएको हो ।

जनआस्थाको हिजोको अंकमा ‘प्रमको नाडीमा करोडौंको घडी, देशभर बाढी’ शीर्षकमा समाचार प्रकाशित भएको छ । समाचारमा प्रधानमन्त्रीले सबैभन्दा महँगो पातेक फिलिपको घडी लगाउनुभएको सन्दर्भ उल्लेख छ । उहाँ देश, विदेशको यात्रा तथा पार्टी कार्यक्रममा सहभागी हुँदा पनि सोही घडीमा देखिने गर्नुभएको समाचारमा लेखिएको छ । प्रधानमन्त्रीले लगाउने गर्नुभएको महँगो ह्वाइट गोल्डको चश्माको फ्रेमबारे पनि समाचारमा चर्चा गरिएको छ ।

समाजशास्त्री ढकाल सामाजिक सञ्जालमा निकै आक्रामक ढंगले आफ्ना धारणा राख्ने गर्छिन् । उनले तीन दिनअघि सहकारी ठगीबारे पनि व्यंग्यपूर्ण स्टाटस लेखेकी थिइन् । आफू पनि ढकाल भएकाले उनले लेखेकी छन्, ‘सहकारी ठगलाई ठग भन्न ढकाल नै हुनुपर्छ भन्ने छैन । अन्न खाने र चेत भएको मान्छे भए पुग्छ है । धन्यवाद ।’ उनको लेखाइको अर्थ रास्वपा सभापति रवि लामिछानेमाथि सहकारी ठगीको सोझै आरोप सोही पार्टीका हालै निष्कासित महामन्त्री मुकुल ढकालले लगाउँदै आएको सन्दर्भमा जोडिएको सहजै अनुमान गर्न सकिन्छ ।

टिप्पणीहरू