देशबाट रविका दाहिने हात यस्तरी दम्पच

देशबाट रविका दाहिने हात यस्तरी दम्पच

सत्ता टिकाउन विभिन्न व्यक्ति, समूह र दलका जायज–नाजायज सबै माग पूरा गर्नुपर्ने गठबन्धन सरकारको बाध्यतालाई राजनीतिका ‘च्याँखे खेलाडी’ ले आफूअनुकूल प्रयोग गरेका अनेक दृष्टान्त छन् ।

सरकार गठनमा निर्णायक संख्या देखाएर बार्गेनिङ गर्ने र सत्तामा पुगेपछि राज्यका निकायलाई आफ्नो निहित स्वार्थमा जथाभावी चलाउने अभ्यास पछिल्लो समय झन् मौलाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको निजी स्वार्थपूर्तिका लागि प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले अनावश्यक सम्झौता गर्दा प्रहरी संगठन कसरी ध्वस्त हुन पुग्यो भन्ने कुरा यसैको एउटा उदाहरण हो । 

एमाले अध्यक्ष तथा हालका प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा दोस्रोचोटि गृहमन्त्रीको कुर्सीमा पुगेका रविले करिब चार महिना गृह–प्रशासनको नेतृत्व लिँदा सबैभन्दा बढी विवादित बन्यो– केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) । उनी गृहमन्त्री बनेलगत्तै प्रहरीमा महत्वपूर्ण मानिने सिआइबीको प्रमुख बनाइए एआइजी श्यामलाल ज्ञवाली । सहकारी ठगी प्रकरणको अनुसन्धान प्रभावित तुल्याउने उद्धेश्यले त्यहाँ लगिएका ज्ञवालीमार्फत रविले प्रहरी संगठनलाई आफ्नो हातको खेलौनामात्र बनाएनन् ‘समानान्तर हेडक्वार्टर’ चलाएको आरोप पनि लाग्यो । रविभक्त हनुमान बनी संगठनविरुद्ध गतिविधि गरेको आरोप लागेका उनै ज्ञवाली सरकार परिवर्तन भएसंगै सिआइबीबाट तानिए । र, उनीमाथि छानबिन गर्न एआइजी टेकप्रसाद राईको नेतृत्वमा छानबिन समितिसमेत गठन भयो । 

अपराध अनुसन्धान विभागको C-4 शाखाबाट प्राप्त सिडिआर विवरणमा मिति २०८०/०७/०३ देखि २०८१/०१/३० सम्म निज श्यामलाल ज्ञवाली र रवि केसीबीच जम्मा ७६ पटक फोन सम्पर्क भएको देखिन्छ ।

गत भदौ २५ गते अवकाश लिएका उनीमाथि त्यसअघि नै कारवाही गर्न सिफारिससहितको प्रतिवेदन समितिले बुझाए पनि उनलाई सेटिङमा भदौ २९ गते बिहान विदेश भगाइएको छ । रवि लामिछाने र  रवि केसीसँग मिलेर ठूलो आर्थिक अपराधको घटना घटाउँदा पनि आइजीपी वसन्त कुँवरको ससुराली नाता पर्ने भएकाले उन्मुक्ति दिएर अवकाशपछि उनलाई विदेश जाने सहुलियत प्राप्त भएको हो । प्रहरी सेवामा बहाल रहेकै बखत अमेरिकाको ग्रिनकार्ड लिएको विषयमा अनुसन्धान जारी रहँदा उच्च प्रहरी नेतृत्वसँग साँठगाँठ मिलाएर कतार एयरवेज क्युआर ०६४९ नम्बरको उडानबाट बेलायत हुँदै पत्नी सीता पाण्डेसहित अमेरिका जाँदै गरेका ज्ञवाली अब नेपाल नफर्किने निश्चित रहेको प्रहरी स्रोत बताउँछ । 

छानबिन समितिलाई समेत चुनौती दिएर बयानका लागि बोलाउँदा उपस्थित नभएका उनले बिचौलियासँग मिलेर बर्दीको आडमा कसरी गुण्डागर्दी चलाएका रहेछन् भन्ने प्रमाणहरू क्रमशः बाहिर आइरहेको छ । पासपोर्ट नम्बर ०९०२१०६६ र पिए ०२७१९६३ आर्थिक र संगठित अपराधको पर्दाफास गर्दै छानबिन समितिले उनी भूपू हुनुअगावै प्रहरी नियमावली, २०७१ (संशोधन) को दफा ११९ लगाएर प्रतिवेदन बुझाए पनि न कारवाही भयो, न बयानको लागि हाजिर नै गराइयो । बरु, अवकाशपछि विदेश जाने सहुलियत प्रदान गरेर योजनावद्धरुपमा उम्काइयो । 

सुन तस्करी प्रकरणका फरार अभियुक्त जीवन चलाउनेसँग पैसा लिएर भगाएको, सहोदर दाजु ठाकुरप्रसाद ज्ञवाली आइजीपी भएका बेला सरुवा, बढुवा, ठेक्कापट्टा, निर्माण, खरिद, बिक्रीजस्ता ठूलो आर्थिक चलखेल गरी प्रहरी संगठनमा अनुचित प्रभाव जमाई गलत नजिर स्थापित गरेको, अनुसन्धानका क्रममा अभियुक्तसँग आर्थिक मोलमोलाई गरेको लगायत दर्जनौँ आरोप लागेका ज्ञवालीले आइजी बनाउने ठेक्का लिएर करोड–करोडको डिलसमेत गरेका थिए । यससम्बन्धमा प्राप्त उजुरीमाथि छानबिनपछि समितिले उनलाई दोषी ठहर गर्दै प्रहरी नियमावलीको व्यवस्थाबमोजिम कारवाही तथा थप अनुसन्धानका लागि सिफारिस गरेको थियो । 

फरार अभियुक्त जीवन चलाउनेले प्रयोग गर्दै आएको फोन नम्बर ९८५११२७५९० र ९८५१०८९८८४ - श्याम ज्ञवालीको फोन नम्बर ९८५१२८०३८२ मा मिति ०८०/०३/१८ गते २०:३० बजेको समयमा ११६ सेकेण्ड कुरा भएको र अवैध सुन पैठारी तथा संगठित अपराधसम्बन्धी मुद्दामा पक्राउ पर्नसक्ने सूचना दिई भाग्न लगाएको यसै कल विवरणबाट प्रमाणित हुन्छ ।

ज्ञवालीले चलाउनेकै खर्चमा पटक–पटक दुबई गई सुन तस्करहरूको गिरोहसँग साँठगाँठ गरेको समितिको निश्कर्ष छ । २०८० जेठ २६ गते दुबई गई असार १ गते फर्किएको देखिएको र ‘लर्ड अफ दि ड्रिंक्स’ प्रालिका सञ्चालक राजु सिंह सुवाल र रुदिल बल्ल श्रेष्ठले ज्ञवालीसंग चिनजान रहेको व्यहोराको कागज गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सुवाल र श्रेठ बालबालिकाविरुद्ध मुद्दा अनुसन्धानको सिलसिलामा जिल्ला प्रहरी परिसर काठमाडौँमा थुनामा रहेको बखत ‘लर्ड अफ ड्रिंक्स’ प्रालिका सञ्चालक भनिएका भूपेन्द्रसमशेर कुँवरसँग ज्ञवालीले पटक–पटक कुरा गरेको प्रमाणका आधारमा समितिले त्यस्तो निश्कर्ष निकालेको हो । 

त्यस्तै, ज्ञवालीले सूर्य नेपालका कर्मचारी तथा विभिन्न रक्सी कम्पनीका मालिक रवि केसीसँग आइजीपी बन्ने भन्दै ३५ करोड लिएको आरोपमा पनि राई नेतृत्वको छानबिन समितिले थप अनुसन्धान हुनुपर्नेमा निचोड दिएको छ । केसी ज्ञवाली र उनका दाजु ठाकुरका व्यावसायिक साझेदारसमेत हुन् । प्रहरीजस्तो गरिमामय संगठनको सदस्य भैसकेपछि प्रचलित कानुनबमोजिम अनुशासनमा रही कार्य सम्पादन गर्नुपर्नेमा ज्ञवालीले गैर–व्यावसायिक तथा प्रहरी आचरण विपरित कार्य गरेको प्रतिवेदनमा उल्लेख छ । अदालतबाट पक्राउ पुर्जी जारी भएका र अनुसन्धानको क्रममा थुनामा रहेका आरोपितसँग जोडिएका व्यक्तिसँग फोन सम्पर्कमा रहेको खुल्ने कल विवरण (सिडीआर) एवम् आई टु विश्लेषणबाट यो तथ्य प्रमाणित भएको समितिले जनाएको छ । त्यसैले उनलाई प्रहरी नियमावली २०७१ (संशोधनसहित) बमोजिम अवकाशमा जानुअगावै सजायँ निर्क्यौल गर्न उपयुक्त हुने समितिको सुझाव छ ।

प्रहरी नियमावलीको नियम ११९ को उपनियम १ को ११ (क) मा महानिरीक्षकले एआइजीलाई नसिहत दिने, चालचलनसम्बन्धी प्रतिवेदनमा प्रतिकूल राय लेख्ने, बढुवा रोक्का गर्ने वा तलब वृद्धि रोक्न सक्ने तथा सोही नियमको उपनियम १ को ११ (ख)मा गृह मन्त्रालयका सचिवले आरोपितले खाइपाई आएको तलव घटुवा गर्ने र उपनियम १ को ११ (ग)मा मन्त्रिपरिषदले तल्लो तहमा घटुवा गर्ने, भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गर्न सक्ने व्यवस्था छ । नियमावलीको सोही व्यवस्था स्मरण गराउँदै समितिले ज्ञावलीबाट हालसम्म भएका कामकारवाहीमा देखिएका कसूरअनुसार सजाय गर्न र अन्य प्रचलित ऐन, नियमअनुसार सजाय हुने अवस्था देखिएमा सम्बन्धित निकायलाई लेखी पठाउन उपयुक्त हुने ठहर पनि गरेको थियो । तर, भित्रभित्रै सेटिङ मिलाएर उनलाई विदेश भगाइएसँगै छानबिन समितिको सुझाव र सिफारिस रद्दीको टोकरीमा पुगेको छ ।  

त्यस्तै, थप अनुसन्धानका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने राय पनि दिइएको छ । उजुरीकर्ताले उठाएका विषयको छानबिनसम्बन्धी सम्पूर्ण काम सम्पन्न नभएको अवस्थासँगै थप उजुरी, कागज, प्रमाण, बैंक विवरणको विश्लेषण एवं आइ टु विश्लेषणमा देखिएका मोबाइल नम्बरसँग सम्बन्धित व्यक्तिहरूसँग बयान, सोधपुछ गर्न आइजीकै नेतृत्वमा अर्को छानबिन समिति गठन गर्नसमेत सुझाव दिइएको छ । 

चलाउनेसँग आर्थिक सम्बन्ध, मीटरब्याजको पैसाले लफडा 

सुन तस्करी प्रकरणको अनुसन्धान चलिरहँदा फरार आरोपित जीवन चलाउनेसँग ज्ञवालीले एक करोड मागेको भिडियो सार्वजनिक भयो । मोटो रकम बुझेर ज्ञवालीले नै चलाउनेलाई भगाएको चर्चा चलिरहँदा २०८० चैत १३ गते दिनेश पौडेलले प्रमाणसहित उजुरी दिएका थिए । जसमा चलाउनेले प्रयोग गर्दै आएको ९८५११२७५९० र ९८५१०८९८८४ मोबाइल नम्बरमा ९८५१२८०३८२ नम्बरबाट ज्ञवालीले २०८० असार ३० गते बेलुका साढे आठ बजे करिब २ मिनेट कुरा गरेको र त्यसले उनीहरूको भित्री सम्बन्ध पुष्टि हुने उल्लेख छ । 

सिआइबी प्रमुखको रुपमा कार्यरत रहँदा निज श्यामलालले अभद्र मुद्दा छिटो बुझाइदिने भनी १० हजारदेखि ५० लाखसम्म माग्ने गरेको, पर्वल कम्पनीको सिइओ सतेन्द्र श्रेष्ठ र एकाउण्टेण्ट मिलन फरार रहेकोमा उक्त कम्पनीको अध्यक्ष भीम तिमिल्सिनालाई १० पटक हिरासतबाट आफ्नो कार्यकक्षमा बोलाई पैसाको बार्गेनिङ गरेको प्रमाण छ ।

उक्त निवेदनमाथि छानबिन गर्दा ज्ञवाली र चलाउनेबीच लामो समयदेखि आर्थिक सम्बन्ध रहेको अन्य विवरण पनि खुलेको छ । मीटरब्याजमा पैसा लगाउँदै आएका यी दुईले पछिल्लो पटक ठाकुरको एक करोड चलाएका थिए । काभ्रे घरभै अहिले जोरपाटी बस्ने चर्चित मीटरब्याजीमार्फत उक्त रकम चलाउनेलाई दिएकोमा त्यसैलाई लिएर मन–मुटाव शुरु भएको र पछिल्लो समय सम्बन्ध बिग्रिएको बताइन्छ ।  चलाउनेकै खर्चमा ज्ञवाली पटक–पटक दुबई गएको तथ्य यसअघि नै खुलिसकेको छ । सुन तस्करीका गिरोहसँग भेट्न योजनामै त्यता गएको दाबी गरिएको छ । तर, समितिको प्रतिवेदनमा भने युएइमा भएका भेटघाटमा संलग्न व्यक्तिहरूको पहिचान गर्न र विदेश जानुको प्रयोजन के थियो ? थप खोजबिन गर्न सुझाइएको छ । 

दाजुको आडमा संगठन कब्जा, त्यसैको जगमा कमाउ धन्दा  

ज्ञवालीमाथि जागिर खान नागरिकता किर्ते गरेको र पदमा रहेकै बेला अमेरिकी ग्रिनकार्ड लिएको आरोप पनि छ । यससम्बन्धी उजुरीमा नागरिकतामा जन्ममिति फरक बनाएर सरकारी निकायलाई झुक्यानमा पारी किर्ते र जालसाजी गरेको दाबी गरिएको छ । प्रहरी निरीक्षकबाट सेवा शुरु गरेका उनको भर्ना प्रक्रिया नै कलुषित रहेको उजुरकर्ताको जिकिरमा समितिले आंशिक ठहर गर्दै थप छानबिन हुनुपर्ने भनेको छ ।

नेपाली नागरिकता त्यागी अमेरिकी ग्रिनकार्ड लिएको आरोपमा आइजिपीको सचिवालयमार्फत यहाँस्थित अमेरिकी दूतावासलाई पत्र लेखेर सोधिएकोमा यकिन विवरण प्राप्त भैनसकेको प्रतिवेदनको तपसिल खण्डमा उल्लेख छ । जागिरको दौरान प्रायःजसो सबै राम्रा भनिएका स्थानहरूम कार्यरत रही अकूत आर्जन गरेको र त्यसैको बलमा शक्ति केन्द्रलाई हात लिएको आरोपबाट पनि ज्ञवालीले ‘क्लिनचिट’ पाएका छैनन् । उनीमाथि दाजु ठाकुर आइजीपी हुँदा काठमाडौँ प्रहरी प्रमुख भई प्रधान कार्यालयले गर्ने सरुवा बढुवा, ठेक्कापट्टामा चलखेल गरेको र अनुचित प्रभाव जमाई प्रहरीमा गलत नजिर स्थापित गरेको गम्भीर अभियोग छ । यस सम्बन्धमा तत्कालीन जिम्मेवारीमा रहेका व्यक्तिहरूसँग बुझ्ने, आर्थिक कारोबार भए नभएको यकिन गर्न बैंक विवरण माग्ने र सो प्रकरणमा जोडिन सक्ने सम्भाव्य व्यक्तिहरूको पहिचान गरी सोधपुछ गर्न सुझाव दिइएको छ । 

त्यस्तै, आफू आइजिपी बन्नका लागि व्यवसायी रवि केसीसहितलाई बालुवाटारस्थित एक रेष्टुरेण्टमा भेटेर सूर्य नेपालको तर्फबाट २५ करोड र डिष्टिलरीबाट १० करोड गरी ३५ करोड लिएको सम्बन्धमा सम्बन्धित व्यक्तिको खोजी गरी थप अनुसन्धान गर्नुपर्ने एआइजी राईले निश्कर्ष दिएका छन् । यसनिम्ति केसी र ज्ञवाली दुबैको बैंक विवरण प्राप्त गर्ने काम बाँकी रहेको जनाइएको छ । तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई रिझाएर सिआइबी प्रमुख भएका ज्ञवालीमाथि यसबाहेक मुद्दा मिलाइदिने नाममा थुनुवासंग मोलमोलाई गरेको, अनुसन्धानका क्रममा हाकाहाकी रकम माग्ने गरेको जस्ता अन्य थुप्रै आरोप छन् । अभद्र मुद्दा छिटो बुझाइदिने प्रलोभनमा पारेर प्रतिवादीहरूसँग १० हजारदेखि ५० लाखसम्म रकम माग्ने गरेको, पर्वल कम्पनीका सिइओ सतेन्द्र श्रेष्ठ र एकाउन्टेन्ट मिलन भन्ने फरार उक्त कम्पनीका अध्यक्ष भीम तिमिल्सिनालाई १० पटक हिरासतबाट आफ्नै कार्यकक्षमा बोलाई रकम बार्गेनिङ गरेको दाबी गरिएको छ । 

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू