नाम चलेका कलाकारहरु फूलपातीका दिन भिड्ने मुडमा

नाम चलेका कलाकारहरु फूलपातीका दिन भिड्ने मुडमा

कुनैबेला ‘एक्सन जनरा’मा बनेका नेपाली फिल्म र अभिनेता विराज भट्ट एक–अर्काका पर्याय मानिन्थे । दुई दशकअघि विराजले नाम र दाम राम्रैसँग कमाए । तर, पछिल्लो एक दशक उनी पर्दामा देखिएका छैनन् । 

उनै विराज चलचित्र ‘१२गाउँ’ बाट कमब्याक गर्दैछन् । र, यही फिल्मबाट उनका छोरा समीरको डेब्युसमेत हुँदैछ । 

लामो समय मिडियाबाट टाढा रहेका विराज हिजो छोरा र चलचित्रकी हिरोइन न्यान्सी खड्कासहित पत्रकारसामु उपस्थित भए । चलचित्रको प्रदर्शनबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले दर्जनौँ निजी प्रश्नहरुको पनि सामना गर्नुपर्यो । 

उनलाई सोधियो, ‘यतिका समय चलचित्रबाट किन हराउनुभयो ?’ विराजले भने, ‘म हराएको हैन, चलचित्रकै साधनामा थिएँ । अब एउटा राम्रो चलचित्र दर्शकलाई दिउँ भनेर १२ गाउँ  बनाइयो ।’

‘नेपाली चलचित्रको स्तर कहाँ छ जस्तो लाग्छ ? कत्तिको अपडेटमा बस्नुभयो ?’ भन्ने प्रश्नमा उनको जवाफ छ, ‘म पर्दामा नदेखिए पनि कलाकार भएको नाताले चलचित्र क्षेत्रलाई हेरिरहेको छुु । लगानीको दृष्टिकोणले पहिलेभन्दा धेरै परिवर्तन आएको छ । जब हामी एक्सन फिल्म बनाउन थाल्छौं, ठूलो चुनौति छ ।’

छोरा समीरले पनि बाबुको तारिफ गरेर थाकेनन् । चलचित्रमा आउनुको मुख्य श्रेय बाबुलाई नै दिए । ‘म विराज भट्टको छोरा हो । म सँधै विराज भट्टकै छोरा रहनेछु । उहाँको छोरा हुनुमा घाटा त म केही पनि देख्दिन । फाइदै फाइदा देख्छु । किनभने, उहाँ मेरो बुवा पनि हो । उहाँ मेरो गुरु पनि हो । उहाँले मलाई मोटिभेट पनि गर्नुहुन्छ । ममा जोश र ऊर्जा ल्याउने पनि उहाँ नै हो’, उनले भने । 

‘१२ गाउँ’ अभिनेत्री न्यान्सीको पनि डेब्यु फिल्म हो । डेब्युमै परिपक्व कलाकारसँग काम गर्न पाउँदा खुशी लागेको उनले बताएकी छन् । विराज र समीरको सम्बन्धको पनि उनले खुलेर प्रंशसा गरिन् । 

रोचक भिडन्त 

‘१२ गाउँ’ चलचित्र आगामी असोज २४ गते (फूलपाती) प्रदर्शनमा आउँदैछ । तर, चलचित्रले दर्शक पाउन सजिलो भने छैन । किनकि, सोही दिन अरु दुई चलचित्र पनि प्रदर्शन हुँदैछन्, दीपकराज गिरीको ‘छक्का पञ्जा ५’ र जितु नेपालको ‘ज्वाइँसाब’ । 

अहिले तीनवटै चलचित्रका निर्माण पक्ष प्रचार प्रसारको दौडधुपमा लागेका छन् । उनीहरुका सार्वजनिक अभिव्यक्तिमा स्वस्थ प्रचारभन्दा पनि ‘दुश्मनी’ अवस्था बनेको छ । तीन वटै फिल्ममका निर्माता, निर्देशकमाथि साइबर सेना परिचालन गरेको आरोप लागिरहेको छ ।  

अर्को कुरा, चलचित्रको सफलतामा ट्रेलरले पार्ने प्रभाव महत्वपूर्ण मानिन्छ । सामान्यतयाः फिल्म प्रदर्शनको केही हप्ताअघि ट्रेलर सार्वजनिक गर्ने चलन छ । तर, ‘छक्का पञ्जा ५’ को अझैसम्म ट्रेलर सार्वजनिक भएको छैन । ट्रेलर सार्वजनिक नगरेर एकैचोटी चलचित्र प्रदर्शन गर्न खोज्नुलाई दीपकराज गिरीको अनौठो रणनीति मान्न सकिन्छ । 

‘१२गाउँ‘’ ले गत साता नै ट्रेलर सार्वजनिक गरेको थियो भने ‘ज्वाँइसाब’ले हिजो गरेको छ । जे होस्, कुनै समयका चर्चित अभिनेता विराजको कमब्याक चलचित्र ‘१२ गाउँ’, बक्स अफिस कलेक्सनमा नयाँ रेकर्ड बनाउँदै आएका दीपकराजको ‘छक्का पञ्जा ५’ र छक्का पञ्जा टिमबाटै अलग्गिएका जितु नेपालको ‘ज्वाइँसाब’को भिडन्त भने रोचक हुने निश्चित छ ।

टिप्पणीहरू