सरकारी सुराक बटुल्दै यी सांसद

सरकारी सुराक बटुल्दै यी सांसद

सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई सरकारले समातेर कारबाही अगाडि बढाउला या के होला ? यो प्रश्न जति आमसर्वसाधारणका लागि चासोको विषय हो । यसमा स्वयं रवि र उनको टिमलाई समेत उत्तिकै खुल्दुली छ । त्यसैले प्रहरीको योजना के छ र आफूविरुद्धको कारबाहीमा कसरी प्रशासन उत्रँदै छ भन्ने कुराको जानकारी बटुल्ने जिम्मा रविले काठमाडौँ–७ बाट निर्वाचित आफ्ना सांसद गणेश पराजुलीलाई दिएको पाइएको छ । 

समाचार स्रोतका अनुसार पराजुली अब के हुन्छ, पक्राउ गर्छ या बाहिर राखेर अनुसन्धान गर्छ ? योजना के छ ? सरकारले कस्तो निर्देशन दिएको छ ? कुन ढंगले यसलाई अगाडि बढाउने सोच छ ? जस्ता प्रश्न सोध्दै हिँडिरहेका छन् । उपत्यका प्रहरीका एक जना एसएसपीलाई उनले के निर्दोष हुँदाहुँदै पनि पक्राउ नै गरेर राख्ने नीति हो ? भनी सोध्दा जवाफमा ती हाकिमले भनेका थिए, ‘अपराधको जगमा उभिएर म निर्दोष छु भन्न मिल्छ ? आफू गोर्खा मिडियाको सञ्चालक भएर बस्ने अनि घाँस दाउरा गरेर दुई चार रूपैयाँ जोड्ने गरिब निमुखाको पसिना लुटेर त्यसको जगमा सञ्चारमाध्यम चलाउँछु भन्ने ? अनुसन्धान गर्नु भन्दा क्लिनचिट दिएको अर्थ लाग्छ ?’

त्यसो त अहिले रवि लामिछानेका अनुयायीहरू सूर्य थापाले एउटा टेलिभिजन अन्तर्वार्ताका क्रममा ‘रविले सहकारीबाट सोझै पैसा लिएको तथ्यले देखाएन ।’  भन्ने वाक्य भएको क्लिपलाई अनलाइन मिडिया सामाजिक सञ्जालमा बुस्ट गरिरहेका छन् । पुलिसको तर्क के छ भने सहकारीको पैसा सीधै गोर्खा मिडियामा हाल्न पाइँदैन । त्यहीँ नै गैरकानुनी काम भइसकेको छ । यसरी मिडिया सञ्चालन गर्दा पैसा कहाँबाट आयो भन्ने कुराको जानकारी र जिम्मेवारी त्यसका तत्कालीन सञ्चालकले लिनुपर्छ । त्यसैले रवि लामिछाने दोषी छैनन् भन्ने तर्क गर्न मिल्दैन । नेपाल प्रहरीका अनुसन्धान अधिकृतहरू भन्छन्– विगतमा रविले भनेको एमडीले चेक नकाटेर घाँस काट्छ त भन्ने जवाफ नै उनका लागि भारी परिरहेको छ । उनीहरूको तर्क छ–‘घाँस काट्नेहरूको पैसा लुटेर खाएपछि काट्ने त चेक नै हो, घाँस होइन ।’

त्यसो त पुलिसले यो प्रकरणलाई कालोधनको कारोबार अर्थात् मनी लण्डरिङसँग पनि जोडेर अनुसन्धान गरिरहेको छ । उनीहरूको भनाइ छ – यदि सोझो कमाइ हुन्थ्यो भने त डिआइजीबाट सेवानिवृत्त सबै जनाको त्यति नै धेरै सम्पत्ति भइहाल्थ्यो नि ! छविलाल जोशीले जे–जति सम्पत्ति कमाए र क्यासिनो र मिडिया खोल्न सक्ने गरी जति काम गरे त्यसको स्रोत के हो ? सम्पत्ति शुद्धीकरणको कोणबाट हेर्ने हो भने यो सरासर आपराधिक गतिविधिबाट कमाएको सम्पत्ति हो भन्ने पुष्टि हुन्छ । 

उता, रवि लामिछाने सहकारीबाट प्राप्त पैसाले गोरखा मिडिया खोल्ने काममा लागेकोमा अब धेरैलाई शंका छैन । किन अहिले गोर्खा मिडियाको हालत त्यस्तो भयो र भागाभागको स्थिति बन्यो ? किनकि त्यो शुरुमै अवैध धनबाट खडा गरिएको संरचना थियो । यो सबै कुरा बुझेका ती हाकिमले जवाफ दिएका थिए, ‘लुटको धन, फुपूको श्राद्ध, हामीले बुझेको कुरा यही हो । कसले के भन्छ, के गर्छसँग सरोकार छैन, कानुनबमोजिम अपराध गरेको हदसम्म कारबाही गर्ने जिम्मेवारी हो, त्यो गरेरै छाड्छौँ ।’ 

यसैबीच, रूपन्देहीको बुटवलस्थित अख्तियार कार्यालयमा पुलिसका हाकिम मुकुन्द गौतमले आफू मातहतका सिपाहीलाई खटाएर अख्तियारको त्रास देखाउँदै असुल्ने गरेको चर्चा छ । केही व्यापारी र सर्वसाधारणलाई हामी अख्तियारका हौँ भन्दै पैसा असुल्ने काममा उनले केही सिपाहीलाई खटाउँदै आएका थिए । उनीहरूको त्यो धन्दा लामै समयदेखि चलिरहे पनि कमल रायमाझी नामक पत्रकारलाई समेत आफ्नो पासोमा पार्न खोजेपछि भने धन्दा सार्वजनिक भएको हो । जब प्रहरी नेतृत्वले यो कुरा थाहा पायो अहिले बुटवलको सम्पूर्ण टिमलाई नै त्यहाँबाट सार्ने तयारी भइरहेको छ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू