तीन राजीनामा तयार

तीन राजीनामा तयार

भित्रका कुनै पनि कुरा चित्त बुझेको छैन तर बाहिर निस्किएर नाटकीय शैलीमा पेश हुनुपर्ने !

पार्टी प्रवक्ताको जिम्मेवारीमा रहनुभएका नारायणकाजी श्रेष्ठलाई नमीठो लागेको छ ।

झण्डै एक महिना भयो, राजीनामा खल्तीमै बोकेर हिँड्नुभएको ।

तर, प्रचण्डले अहिलेसम्म थाम्दै आउनुभएको हो । शायद, साह्रै भएपछि बिहीबार नारायणकाजीको ट्वीट आयो, ‘गणेशमानजी र किसुनजीले नेकाँ एक राख्न पार्टी परित्यागसम्म गर्नुभयो । त्यो कदम ठीक थियो कि थिएन,बहस होला । तर, पार्टी बचाउन गरिएको त्यागको उत्कर्ष हो त्यो । हामी पनि हाम्रो पार्टीलाई बचाउन जे गर्न पनि तयार हुनुपर्छ । तर, पार्टीलाई फुटबाट मात्र होइन, विसर्जनको खतराबाट पनि जोगाउनुपर्छ ।’

नारायणकाजीमात्र हैन, सरकारका अरु दुई मन्त्रीले पनि १५–२० दिनअघि नै प्रधानमन्त्रीलाई राजीनामा बुझाउन खोजेका थिए । यो कुरा सम्बन्धित मन्त्रीले स्वीकारेका छैनन्, तर प्रधानमन्त्रीले प्रचण्डलाई केही दिनअघि भन्नुभयो, ‘घनश्याम र योगेशहरु पनि कराउन आएका थिए, मैले हेर्दै छु ।’

‘तर, बैठक राख्दिनँ…’
सचिवालय बैठकबाट बिनाऔपचारिकता,उठेर निस्कनुभएका प्रधानमन्त्रीको शैलीप्रति प्रचण्डले तत्कालै असहमति राख्नुभयो । ‘सञ्चो नहोलाजस्तो भयो’ भन्दै आरामका नाममा निस्कनुभएका प्रधानमन्त्रीसँग भेट्न प्रचण्ड तुरुन्तै जानुभयो । तर, उहाँ पुग्दा आराम गर्दै हैन,प्रम आफ्नो समूहको अर्को बैठकमा बसिसक्नुभएको रहेछ ।

तै पनि, प्रचण्डले एकछिन अलग्गै कुराकानी गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘जसरी जाने हो,जानुस् । तपाईंका एकसे एक कुरा मलाई थाहा छन् । पार्टी फुटाउने भए पनि फुटाउनुस् । तर,म बैठक राख्दिनँ ।’

दलको हिसाब
संसदीय दलमा रहेका पूर्वएमालेमध्ये पाँच–सातजना बाहेक सबै आफूसँगै हुन्छन् भनी निकटस्थहरुले बताएको कुरालाई प्रधानमन्त्रीले पत्याइरहनुभएको छ । त्यसो गर्दा बहुमत पुग्छ भन्ने ठम्याईका साथ रक्षा मन्त्री र प्रमका प्रेस सल्लाहकारनिकटको एक अनलाइनले विश्लेषण नै लेखिदिएको छ । त्यो विश्लेषणसम्म देखाएर प्रधानमन्त्रीलाई ‘हो’ भन्ने  पारिएको छ । तर,खतरा अरु नै छन् ।

अविश्वासको बाटो
असन्तुष्ट नेकपा नेताहरुले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेसम्मको सल्लाह गरेका छन् । त्यसका निम्ति सकभर नेपाली कांग्रेस र समाजवादी पार्टीमार्फत अगाडि बढ्ने र संसदमा फ्लोरक्रस गरिदिने कुरा भएको हो ।

अन्तिम विकल्प
अहिलेको यो झमेलाबाट प्रधानमन्त्रीलाई मुक्ति मिल्ने एकमात्र बाटो छ,लचकताको ।
उहाँले प्रधानमन्त्रीबाट राजीनामा दिनु होला भनेर त असन्तुष्ट नेताहरुले कल्पनासम्म गरेका छैनन् । तर,अध्यक्षबाट विधिवत (बचनले हैन, लिखतमै) राजीनामा दिने हो भने असन्तुष्ट नेताले आफ्नो जित ठान्ने स्थिति छ ।

तर, प्रधानमन्त्री यसो गर्न पनि तयार हुनुहुन्न । किनभने, त्यसो गर्न स्वयं प्रधानमन्त्रीदेखि उहाँका सल्लाहकारसम्म तयार छैनन् । कारण हो, त्यसपछि गर्दा पाइला–पाइलामा खतरा हुन्छ, सबै कुरा आफ्नो हातबाट जान्छ, पार्टीको अधीनमा बस्नुपर्छ ।

टिप्पणीहरू