झापाली नातिले खोटाङकी हजुरआमालाई खाल्डोमा पुरे
खोटाङको जन्तेढुङगा गाउँपालिका–५, चिसापानीघर भई हाल सुनसरी इटहरी उपमहानगरपालिका–१६, बालग्राममा डेरा गरी बस्ने ७७ वर्षीया तुलसा खड्काको हत्यामा संलग्न नाति समातिएका छन् । हत्या आरोपित झापा गौरादह नगरपालिका–३, धोबिनी चोक बस्ने हरि भन्ने २९ वर्षीय नीरबहादुर खड्कालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
खोटाङ बराहपोखरी गाउँपालिका–५, पानिटारस्थित दुधकोशी नदीको बगरमा बालुवाको खाल्डोभित्र गत वैशाख ३१ गते दिउँसो तुलसाको शव फेला परेको थियो । घटना अनुसन्धानको क्रममा उनकै नाति नीरबहादुरले हत्या गरेको खुल्न आएको थियो ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले झापा मेचीनगर नगरपालिका–६, काँकडभिट्टास्थित नेपाल–भारत सीमा क्षेत्रमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा नातिले हजुरआमालाई वैशाख २६ गते इटहरीबाट खोटाङको चिसापानीतर्फ लैजादै गर्दा बराहपोखरी गाउँपालिका–५, पानीटारस्थित दुधकोशी नदीको बगरमा हत्या गरी खाल्डोमा पुरेर फरार भएको खुल्न आएको छ । उनीमाथि कर्तव्य ज्यान कसूर मुद्दामा जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान भइरहेको छ ।
टिप्पणीहरू