विश्वभर कोरोना बढ्यो, खोप लगाउन र सावधानी अपनाउन स्वास्थ्य संगठनको आग्रह

विश्वभर कोरोना बढ्यो, खोप लगाउन र सावधानी अपनाउन स्वास्थ्य संगठनको आग्रह

पछिल्लो केही समय मत्थर देखिएको कोरोना भाइरस संक्रमणको दर पुनः उकालो लाग्न थालेको छ । करिब दुई वर्ष त्रासका साथ बिताएका सर्वसाधारण पछिल्लो एक सातादेखि पुनः त्रसित बनेका छन् ।

विश्वभरीको तथ्याङ्क केलाउँदा अहिले अधिकांश मुलुकमा कोरोना संक्रमण औसत २० प्रतिशतले बढेको छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार विश्वका ११० देशमा कोरोना भाइरसको संक्रमण बढेको छ ।

डब्लुएचओका महानिर्देशक टेड्रोस घेब्रेयसकाले कोरोना भाइरसले स्वरूप परिवर्तन गर्दै गए पनि महामारी अझै अन्त्य नभएको जानकारी दिनुभएको छ । धेरै देशमा अहिले पनि संक्रमण देखिइरहेकाले सावधानी अपनाउन र खोप लगाउन आग्रह गरिएको छ ।

महानिर्देशकले भने, ‘महामारीको स्वरूप परिवर्तन भइरहेको छ, तर महामारी अन्त्य भएको छैन । नयाँ स्वरूपमा भाइरस देखिने गरेकाले पूर्ण नियन्त्रण गाह्रो भएको छ ।’

पछिल्लो १८ महिनामा विश्वमा १२ अर्ब खोप वितरण गरिएको छ । विश्वका ५८ देशले मात्रै ७० प्रतिशतभन्दा बढीलाई कोरोना भाइरसविरूद्धको खोप लगाइसकेका छन् ।

टिप्पणीहरू