भालुको पित्त बोकेका दुई भाइलाई प्रहरीले समात्यो
भालुको पित्त जस्तो देखिने आखेटोपहारसहित काठमाडौं जोरपाटीबाट दुई जना समातिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले अर्घाखाँचीको पाणिनी गाँउपालिका–२ का ५३ वर्षीय हरिओम रसाइली र रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ का ३२ वर्षीय भजिन्द्र दर्जीलाई पित्तसहित आज पक्राउ गरेको हो ।
संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन हुन लागेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जोरपाटी, नयाँबस्तीबाट उनीहरुलाई समातेको हो ।
ब्यूरोका अनुसार उनीहरुको साथबाट भालुको पित्त जस्तो देखिने कालो रंगको वस्तु दुई थान बरामद भएको छ । पक्राउ परेका रसाइली र दर्जीलाई आवश्यक अनुसन्धानका निम्ति डिभिजन वन कार्यालय, काठमाडौंमा बुझाएको प्रहरीले जानकारी दिएको छ ।
टिप्पणीहरू