बलात्कार आरोपी वडाध्यक्ष समातिए, सहमतिमा सम्बन्ध राखिएको उनको दाबी

बलात्कार आरोपी वडाध्यक्ष समातिए, सहमतिमा सम्बन्ध राखिएको उनको दाबी

धनकुटाको सहिदभूमि गाउँपालिका ५ का वडाध्यक्ष सन्तोष राई पक्राउ परेका छन् । २३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई हिजो राति पक्राउ गरेको हो ।

आफूमाथि जबरजस्ती करणी गरेको भन्दै पीडितले हिजो दिउँसो जिल्ला प्रहरी कार्यालय, धनकुटामा उजुरी दिएकी थिइन् ।

पीडित पक्षको उजुरीको आधारमा उनलाई धनकुटा बजारबाट पक्राउ गरेको प्रहरी नायव उपरीक्षक (डिएसपी) चिरञ्जिवी दाहालले बताए ।

उनकाअनुसार घटना अस्ति शुक्रबारको हो । तेह्रथुमको वसन्तपुरस्थित एक होटलमा लगेर बलात्कार गरेको आरोप पीडितले दिएको उजुरीमा उल्लेख छ ।

जिल्ला अस्पतालमा पीडितको स्वास्थ्य परीक्षण समेत गरिसकिएको छ । हाल प्रहरीले वडाध्यक्ष राईलाई थप अनुसन्धानका निम्ति जिल्ला प्रहरी कार्यालय, तेह्रथुम पठाएको छ ।

यता, पीडित र वडाध्यक्षबीच पहिले नै प्रेम सम्बन्ध भएको बताइएको छ । वडाध्यक्ष राईले सहमतिमै शारीरिक सम्पर्क भएको जानकारी दिएको गाउँपालिका अध्यक्ष मनोज राईले बताए ।

वडाध्यक्ष नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

टिप्पणीहरू