भक्तपुरको यातायात कार्यालय स्थानान्तरणमा विवाद, प्रमुखले सेटिङमा काम गरेको आरोप
भक्तपुरको जगातीमा रहेको यातायात व्यवस्था कार्यालय भक्तपुरकै राधेराधे नजिकै सार्न लागिएको छ । अपायक ठाउँमा सर्वत्र विरोधका बाबजुद आज कार्यालयले सबै सामान सार्न लागेको छ । अरनिको राजमार्गसँगै रहेको कार्यालय छाडेर साँघुरो गल्लीमा पुर्याउन खोजेपछि स्थानीयले विरोध गरेका छन् ।
सूर्यविनायक, चाँगुनारायण, मध्यपुर ठिमी र भक्तपुर नगरपालिकाका बासिन्दालाई सबैभन्दा सहज हुने ठाँउ जगाती हो । यातायात कार्यालय बसिरहेको घरको सम्झौता भोलि सकिँदैछ । तर, कार्यालयमा कसैलाई जानकारी नगराई कार्यालय प्रमुख नेत्रप्रसाद भट्टराईले एकल निर्णयमा कार्यालय सार्ने तय गरेपछि विवाद उत्पन्न भएको बताइन्छ ।
कार्यालय सार्न लागिएकोबारे कतिपय कर्मचारीले पनि आजै मात्र पत्तो पाएका हुन् । अहिले बसिरहेका घरधनीले पनि सामान सार्न थालेपछि मात्र आफ्नो घर खाली हुन लागेको थाहा पाएको बताए । पाँच वर्षदेखि बसेको कार्यालय सर्नुको कारण थाहा नभएको उनको भनाइ छ ।
उनले पनि आश्चर्यचकित हुँदै भने, ‘कार्यालय प्रमुख भट्टराईले निर्माणाधीन अवस्थाको भवनमा कार्यालय बनाउन खोज्नुभएको रहेछ ।’
सरोकारवालाहरुले अहिलेको भन्दा अनुपयुक्त घरमा कार्यालय राख्न लागिएकोमा आपत्ति जनाएका हुन् । घर चार तलाको छ तर माथिल्लो भाग अझै सम्पन्न हुन बाँकी छ । राजमार्गसँगै जोडिएको घर र क्षेत्र छाडेर अपायक गल्लीको घरमा कार्यालय सार्नुको कारण के ? भन्दै प्रश्न उठाइएको छ, ‘कार्यालय राख्नको निम्ति प्रमुखले नयाँ घर नपाएकै हुन् ?’
टेण्डर आह्वान गरिएको भनिए पनि गुपचुप तवरले कार्यालय सारिएको एकजना अधिकृतले बताए । उनका अनुसार हालसम्म नयाँ घरधनीसँग कुनै सम्झौता भएको छैन । सरकारी कार्यालयले घरभाडा लिनुअघि सार्वजनिक सूचना जारी गर्नुपर्ने अनिवार्य नियम छ ।
उक्त सूचना सञ्चारमाध्यम, कार्यालयको सूचनापाटी र वेवसाइटमा अनिवार्य राख्नुपर्छ । तर, कार्यालय प्रमुखले कहिँकतै सूचना नै जारी नगरि एकलौटी रुपमा मूल्याङ्कन समितिलाई समेत प्रभावमा परेर अपायक र अनुपयुक्त घरमा कार्यालय सार्न लागेको ती अधिकृतको आरोप छ ।
यता, राधेराधेका घरधनी विकास श्रेष्ठसँग सम्झौतापत्रको बारेमा जिज्ञासा राख्दा उनले कुरा टारेको स्रोतको दाबी छ । घरसल्लाह नगरि अरुलाई सम्झौता पत्र देखाउन नमिल्ने उनी बताउँछन् ।
नयाँ र अनुपयुक्त स्थानमा कार्यालय सर्नेबित्तिकै सेवाग्राहीलाई पर्ने मर्का छुट्टै देखिन्छ । उनीहरुले सेवा लिन धेरै समय खर्चिनुपर्ने भएको छ । चाँगुका स्थानीयलाई कार्यालय पुग्न १२ किलोमिटर यात्रा गर्नुपर्छ भने अरुलाई पनि त्यो ठाउँ पायक नहुने गुनासो छ । एकातर्फ कर्मचारी नै अट्न मुश्किल कार्यालयको नयाँ भाडाको भवनबाट कसरी सेवा दिने हो सबैले चासोका साथ हेरिरहेका छन् ।
२०७३ माघ २ गते जगातीमा कार्यालय स्थापना भएपछि भक्तपुरका बासिन्दालाई निकै सुविधा भएको थियो । सडक छेउमा भएकाले कार्यालय खोज्नुपर्ने झण्झट कसैलाई थिएन । सार्वजनिक यातायात सुविधा राम्रो थियो । पार्किङको निम्ति उक्त क्षेत्र खुल्ला भएकाले समस्या देखिएको थिएन ।
तर राधेराधे भक्तपुरकै सबैभन्दा होचो ठाउँ भएकाले वर्षा याममा सँधै डुबानमा पर्ने गरेको छ । त्यसमा पनि गुण्डुमा कार्यालयको आफ्नै भवन बनाउने तयारी भइरहँदा घर सार्न खोज्नुलाई अनौठो मानिएको छ ।
घर सार्ने नाममा कार्यालय प्रमुखमाथि घुस मागेको आरोपसमेत लागेको छ । घरभाडा सम्झौता नवीकरणमा आर्थिक लेनदेनको कुरा नमिलेपछि घर सारिएको स्रोतको दाबी छ । कार्यालय हाताभित्र सञ्चालित हरेक व्यवसायीसँग जनही ५० हजार रुपैयाँ माग्न घरधनीलाई प्रयोग गर्न खोजिएको उनीहरुको आरोप छ ।
प्रमुखले यसअघि लाइसेन्सका लागि आवश्यक स्वास्थ्य परीक्षण गर्दै आएका डाक्टरलाई समेत साउन १ गतेबाट काममा नआउन निर्देशन दिएका छन् । अहिले ४० रुपैयाँमा हुने जाँच अब ६० रुपैयाँ नयाँ डाक्टरको खोजी गरिएको हो । उक्त ६० रुपैयाँ कार्यालय प्रमुख र सम्बन्धित व्यवसायीबीच आधा आधा गर्ने सहमतिमा डाक्टर फेरिएको आशंका गरिएको हो ।
प्रमुख भट्टराईले अंग्रेजी पत्रिका हिमालय टाइम्समा नेपाली अक्षरमा डाक्टर हटाउने भनेर सूचना निकालेका थिए । कार्यालयमा नआउने र सर्वसाधारणले सामान्यतयाः नपढ्ने उक्त पत्रिकामा सूचना निकालिनुको कारणले पनि शंकालाई बल मिलेको हो ।
नयाँ डाक्टरसँगको सम्झौता पनि प्रमुखकै घरमा भएको ती कर्मचारीको दाबी छ । कानूनअनुसार सरकारी कार्यालयको कागजात घरमा लैजान पाईंदैन । जगातीले स्वास्थ्य जाँचवापत ६० रुपैयाँ तोक्दा यातायात कार्यालय, एकान्तकुनामा सर्वसाधारणले उक्त सुविधा सित्तैंमा पाउने गरेका छन् ।
यता, प्रमुख भट्टराईले भने यसको खण्डन गरेका छन् । उनले उक्त आरोप सरासर झुठो भएको दाबी गरे । उनकाअनुसार सार्वजनिक खरिद नियमावलीले तोकेको प्रक्रियाअनुरुप घर ठेक्कामा लिइएको हो ।
प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माको अध्यक्षतामा तोकिएको भाडा निर्धारण समितिको स्वीकृतिपछि मात्र नयाँ घर भाडामा लिइएको उनको सुनाए । ‘नियममा जहाँ जहाँ सूचना टाँस्न भनेको छ, हामीले टाँसेका छौं । एक्लैको निर्णयले कार्यालय सार्न मिल्छ र ?, ’ उनले भने ।
भट्टराइका अनुसार जगातीमा पार्किङको अभाव थियो । सडकमा ल्याएर सवारी साधन पार्क गर्नुपर्ने बाध्यता रहेको उनी बताउँछन् । नयाँ भवनमा १४ आना जग्गामा पार्किङ गर्न मिल्ने उनको भनाइ छ ।
टिप्पणीहरू