सहकारीको अर्बौं कुम्ल्याएर सञ्चालक दिनदहाडै बेपत्ता,प्रहरी खोज्दै

सहकारीको अर्बौं कुम्ल्याएर सञ्चालक दिनदहाडै बेपत्ता,प्रहरी खोज्दै

राजधानीको कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष र म्यानेजर दिउँसै गायब भएका छन् । सहकारीका अध्यक्ष रामबहादुर गौतम र म्यानेजर रविन विष्ट बचतकर्ताको तीन–चार अर्ब खाएर झण्डै एक सातादेखि बेपत्ता भएका हुन् ।

रकम फिर्ता गर्न आनाकानी गर्दै आएका सहकारी चलाउनेहरु नै एकाएक सम्पर्कविहिन बनेपछि बचतकर्ताहरु बिचल्लीमा परेका छन् ।

आफ्नो पैसा गुम्ने भएपछि पीडितहरु आज सहकारीमा जम्मा भएका छन् । पाँच दर्जन पीडितको टोलीसहित प्रहरी वृत्त,कालिमाटीका प्रहरी पनि घटनास्थल पुगेका छन् । पीडितहरुले सहकारीका सञ्चालक आफ्नो पैसा लिएर भागेको आरोप लगाएका छन् ।

कालिमाटीका प्रहरी नायव उपरीक्षक (डिएसपी) अनिलकुमार घिमिरेले उनीहरु भागेको नभई हराएको बताएका छन् । उनकाअनुसार अध्यक्ष गौतम र म्यानेजर विष्टका घरपरिवारले उनीहरु हराएको भन्दै वृत्तमा निवेदन दिएका छन् ।

परिवारले हराएको भनेर निवेदन दिएपछि खोजतलास कार्य भइरहेको जनाए । यता, घटनास्थलमा पुगेका प्रहरीले भने उनीहरु केही दिनअघि रसुवा जान्छु भनी हिँडेका र एकाएक बेपत्ता भएको जानकारी दिए ।

केही दिनअघि उक्त सहकारीमा पूर्व मुख्य सचिव लीलामणि पौडेल पनि अध्यक्ष भेट्न पुगेको पीडित पक्षले जनाएका छन् । तर,पौडेल भन्छन्,‘मैले अहिलेसम्म उक्त सहकारीको नाम त सुनेको छैन,जानुको त कुरै छोडौं ।’

प्रहरीले हराएको भनी दाबी गरिरहँदा पीडित पक्ष भने पैसा लिएर भागेको आरोप लगाइरहेका छन् । प्रश्न उठेको छ,‘सहकारीको त्यत्रो पैसा लिएर उनीहरु हराएकै होलान् त ?’

टिप्पणीहरू