सुन्नु हुन्छ, केसम्म गरे ती नेताले ?
राजनीतिज्ञ धेरैजसो कसैका पनि स्थायी आफ्ना र स्थायी पराइ हुन्नन् । सिद्धान्त नै बनाएका छन्, न स्थायी मित्र, न स्थायी शत्रु । यो मामिलामा सत्य बोलेका छन्, मान्नुपर्छ । हामी तलका सानातिना, हदै भए एकभोट दिने हैसियतमा रहेकाहरू त तिनको स्थायी वा अस्थायी कुनै पनि कित्तामा पर्दैनौं । हिजो वामपन्थी दलबाट संसदको सदस्य बनेका मान्छे आज बुर्जुवावादी दलबाट आएका छन् । यो ठूलो प्रमाण हो स्थायी र अस्थायी मित्र हुन्छन् भन्ने कुराको । राजनीतिक दृष्टिकोणबाट हामी सबै समान छौं ।
संविधानले नै यो कुराको सुनिश्चितता प्रदान गरेको छ । अहिले राजा छैनन् । ऊ बेला पनि राजाले भोट हाल्दैनथे । अहिले राष्ट्रपति, प्रधानमन्त्रीलगायत सबैले भोट हाल्छन् । उनीहरूको भोटको भ्यालु एक र हामी जनताको भोटको भ्यालु पनि एक । यहि ताकत छ जनतासँग । कहिलेकाहीँ गोलाप्रथाबाट पनि पराजित भएका छन् कतिपय उम्मेदवार । तर, योभन्दा बाहेक अन्त कुनै प्रकारको समानता छैन । हामी, उनीहरू सरहका छैनौं, हामी र उनीहरूमा ठूलो असमानता छ ।
केही वर्षपहिले यो पंक्तिकारले व्यहोरेको एक–दुईवटा मनै दुख्ने घटना सुनाउन मन लाग्यो । झर्को नमानिदिन सविनय अनुरोध पनि छ । पार्टीका ठूला मान्छे थिए । अघिल्लो राति नै समय लिएका थियौं भेट गर्नलाई । काम खासै ठूलो थिएन । बिहानको सातै बजे कोही नपुग्दै उनकोमा पुग्यौं, उनी डेरामा बस्थे त्यो बेला ! सोही दिन मेरो एउटा लेख छापिएको थियोे प्रकाश साप्ताहिकमा । जसमा एमालेकै संस्थापन पक्षको सामान्य आलोचना गरिएको थियोे । म नपुग्दै उनले त्यो लेख पढिसकेका रहेछन् । मलाई देख्नेबित्तिकै एकछिन यता बस्नुस् है भनेर भित्र गए । म पछि अरु धेरै मान्छे आए । उनले ढोका खोलेर तपाईं आउनुस्, तपाईं आउनुस् भन्दै पालैपालो भित्र लगेका छन् । कुरा सकेर ती बाहिर निस्किन्छन् र उनले अर्को आगन्तुकलाई बोलाउँछन् ।
यो क्रम चलिरह्यो र करिब १० बज्ने बेलातिर बाहिर आएर मलाई बोलाए । तर, उनले मलाई अरुलाई भेटेको ठाउँमा नलगेर भान्सातिर लगे र सोधे ‘के काम हो, ल छिट्टो भन्नुस्‘ । मैले आफ्नो काम भनिनँ । किनभने भेटमै यति ठूलो विभेद गर्नेले मेरो काम गरिदेलान् भन्ने कुरामा विश्वास लागेन । खासमा काम लिएर जानु नै गल्ती थियो । तर त्यो गल्तीको सजायँबापत ठूलो ह्युमिलिएशन मिल्यो । बराबरीको कुरा गर्ने वामपन्थी नेताबाट त्यस्तो अपमानजनक व्यवहार होला भन्ने त कल्पनासमेत थिएन । त्यो दिनदेखि आजसम्म म कुनै नेताको घरमा केही काम लिएर गएको छैन । मेरा धेरै जना साथी मन्त्री भए । तर पदमा रहेसम्म उनीहरूलाई बधाई दिनसमेत घरमा गइनँ । एक जना नेताले लौन फलानोकहाँ जाऊँ न भनेर फोनमा भने । उनलाई लिएर गएँ । उनी भित्र गए । के कुरा भयो मैले जान्ने कुरै भएन ।
तर, कुराकानी सकिएर उनीहरू दुबैजना बाहिर आउँदा उनको टेबलटेनिस खेल्ने समय शुरु हुन लागेको रहेछ । मलाई लिएर जाने ती मित्र टेबलटेनिस खेल्न नजान्ने रहेछन् । म फेरि ज्याक अफ अल, माष्टर अफ नन् वाला परें । टेबलटेनिस ब्याट लिएर खेल्ने भएँ । खेल्दा उनलाई हातैमा दिनुपर्ने रहेछ तर उनले भने हुँ हुँ गर्दै घरि बायाँ, घरी दाहिना कुदाउने रहेछन् । करिब एक घण्टाजति उनलाई हातमा बल दिँदै टेबलटेनिस खेलें र थाकेर लखतरान परें । खेलको यो करिब एक घण्टाजतिको समयमा (उनले मलाई सायद तिनलाई भेट्न जाने मान्छेको ड्राइभर हो भन्ने ठानेको हुनुपर्छ) म को हुँ, के गर्छु, कहाँ हो घर, बालबच्चा कति छन् ? आयआर्जन के छ ? तलब कति छ ? कुन पार्टीका सदस्य हौ ? अहँ, केही पनि सोधेनन् । त्यति मात्रै होइन कि खेल अवधिभर मसँग एक शब्द पनि बोलेनन् । खेल सकेपछि मैले गरेको नमस्कार पनि फर्काएनन् । म त्यो दिन टेबलटेनिस खेलेर तीन दिन बिरामी परें ।
राजनीतिक मान्छेहरूले आफ्नो निम्ति कस्ता मान्छे काम लाग्न सक्छन् र कस्ता मान्छे काम लाग्दैनन् भन्ने कुरा छुट्याएर बसेका हुन्छन् । हुन पनि हो, भोट, मनी र मसल्स उपलब्ध गराउन नसक्ने कोही पनि मान्छे राजनीतिक मान्छेका निम्ति जिरो भ्यालुको हुन्छ । उनीहरूको निम्ति अरू कुरा गौंण हुन्छन् । मैले यो कुरा यसर्थ पनि उल्लेख गरेको हुँ कि हामी कोही पनि फलानो मेरो वा हाम्रो मान्छे हो भनेर भ्रममा पर्नु हुँदैन । हामी न पराया हौं न त आफन्त नै !
राजनीतिमा लागेका मान्छेहरूले गुमाउने कुरा केही पनि छैन । पाउनका लागि अवसर पर्खिने मात्रै हो । उनीहरूको निम्ति राजनीति ‘गए आप का, आए बाप का‘ जस्तै हो । हाम्रा कामरेडहरूको र अरुको पनि श्रीवृद्धि, जायजेथामा बढोत्तरी यत्तिकै भएको होइन नि ? राजनीतिमा लागेर कसले एकआना जग्गा, एकसुका दाम वा एकलाल सुन गुमाएको छ ? अपवादको कुरा नगरौं । यदि गुम्दो हो भने त आठ–दशजना अघिपछि लगाएर, तिनलाई खाना नास्तापानी खुवाउँदै हिँड्दा, गाडीमा हिँडाउँदा हरिकंगाल हुनुपर्ने हो नि ! किनभने खुवाउन, पिलाउन, गाडी हिँडाउन त पैसा खर्च हुन्छ । को कंगाल भयो त यहाँ ? देउवा, ओली, प्रचण्ड, माधव, विष्णु, ईश्वर, वर्षमान, जनार्दन, योगेश, गगन आदि कंगाल भए ? भएका छैनन् नि !
यो मेरो व्यक्तिगत बुझाइ हो, गलत पनि हुन सकुँला, राजनीतिक मान्छेहरू अधिकांश जनवादी, जनपक्षीय वा लोकतान्त्रिक कहिल्यै पनि हुँदैनन् । आफ्नो विरुद्धमा लेख्ने बोल्ने वा आलोचना गर्नेहरूलाई जहिले पनि दमन नै गर्ने, दण्डित गर्ने कामै गर्छन् । सहयोग गर्न नसक्नेलाई बेवास्ता नै गर्छन् । अपवादको कुरा बेग्लै हो । तिनले या त राष्ट्रको दोहन गर्छन् कि भने जनता र कार्यकर्ताको शोषण गर्छन् । अलि ब्लन्ट्ली भन्ने हो भने उनीहरू या त सामन्तवादी हुन् र यदि त्यो होइनन् भने पुँजीवादी त पक्कै हुन्, वामपन्थी÷समाजवादी त हुँदै होइनन्, अपवादबाहेक ।
टिप्पणीहरू