पशुपन्छी विकासमन्त्रीमाथि पशु चिकित्सिकहरु खनिए, पदीय मर्यादा भुलेको आरोप
नेपाल भेटेरिनरी एसोसिएसनले पशु सेवा परिषद् विधेयकको विरोध गरेको छ । विधेयकमा आफ्ना माग सम्बोधन नभएपछि एसोसिएसनले विरोध जनाएको बताइएको छ ।
आफूले उठाएका विषयलाई नसमेटि प्रतिनिधि सभाबाट एकपंक्षीय ढंगले विधेयक पारित गरिएको आरोप लगाउँदै उनीहरुले आन्दोलनको चेतावनी दिएका छन् ।
एसोसिएसनद्वारा आज जारी विज्ञप्तिमा पशु स्वास्थ्यजस्तो गम्भीर विषयमा विज्ञ र प्राविधिकबीच सामान्य भिन्नतासमेत नदेखिएको, विवादित विषयहरु संशोधन नगरिएको र द्वैअर्थ लाग्ने गोलमटोल शब्दको प्रयोग गरेर विधेयक संशोधन गरिएकोमा आफूहरुको ध्यानाकर्षण भएको उल्लेख छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले आफ्ना जागज मागहरु नजरअन्दाज गरेको एसोसिएसनको ठहर छ । साथै, उनले आफ्नो पदीय मर्यादा र दायित्वको समेत ख्याल नगरी पशु चिकित्सकहरुलाई सहर केन्द्रितको तथ्यहीन आरोप लगाउँदै प्रतिनिधि सभामा विधेयक पेश गरेको विज्ञप्तिमा उल्लेख छ ।
पारित विधेयकप्रति गम्भीर असहमति र आपत्ति रहेको बताउँदै एसोसिएसनले विधेयकमा रहेका कमजोरी सच्चाएर आफ्ना जायज माग पूरा नभए चरणबद्ध कडा आन्दोलन गर्ने पूर्व जानकारी दिइएको छ ।
सोहीबमोजिम आज पशु चिकित्सकरुले कालोपट्टि बाँधेर विरोध जनाएका छन् । भोलि कार्यस्थलमा पेन डाउन र सबै कामकाज ठप्प पार्ने कार्यक्रम तय गरेका छन् ।
त्यसैगरि भदौ ३ देखि ५ गतेसम्म अत्यावश्यकबाहेकका सेवा बन्द, अनिश्चितकालीन रुपमा भेटेनरी शिक्षा सञ्चालन हुने शैक्षिक संस्थामा अध्यापन बन्द र एक दिने चल्लाबाहेकका पशुपन्छी स्वास्थ्य प्रमाणपत्र जारी नगर्ने बताइएको छ ।
भदौ ६ गते काठमाडौं केन्द्रित भेला र भोलिपल्ट विशेष साधारण सभा गरेर थप कार्यक्रम तय गरिने योजना बनाइएको हो ।
टिप्पणीहरू