फोहोर विसर्जनमा अवरोध नगर्न गगनको आग्रह
नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले काठमाडौँ उपत्यकाको फोहर विसर्जनमा अवरोध नगर्न आफ्ना कार्यकर्तालाई आग्रह गरेका छन् ।
सत्तारुढ गठबन्धनमा आवद्ध पार्टीका स्थानीय नेतृत्वले सिसडोल र बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइटमा फोहर फ्याँक्ने क्रममा अवरोध गरेको आरोप लागिरहेका बेला आज साँझ सामाजिक सञ्जालमार्फत उनले समस्या समाधानमा सहयोगी भूमिका खेल्न काँग्रेस कार्यकर्तालाई आग्रह गरेका हुन् ।
पूर्वमन्त्रीसमेत रहेका थापाले भनेका छन्, ‘नेपाली कांग्रेस पार्टीको तर्फबाट पालिकाको नेतृत्वलाई कोही पनि साथी अवरोधमा संलग्न नहुन भनिसकिएको छ । पार्टीको जिम्मेवार पदाधिकारीको नाताले पुनः खुला आह्वान गर्न चाहन्छु–पार्टीको कुनै पनि तहको कोही पनि साथी अवरोधमा संलग्न नहुनुहोस्, समाधानका लागि सक्रिय हुनुहोस् ।’
अन्य राजनीतिक दलका स्थानीय नेता र कार्यकर्तालाई पनि उनले समस्याको हल खोज्ने कार्यमा मद्दत पुर्याउन थापाको अनुरोध छ । काठमाडौँ फोहोरले अस्तव्यस्त भएको र यही अवस्था अझ केही दिन रहे महामारी फैलिन सक्ने भएकाले सबै जिम्मेवार हुनुपर्नेमा उनको जोड छ ।
’सिसडोल र बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा अवरोध गरिरहनु भएकाहरूलाई काठमाडौँको सांसद र एउटा नागरिकको रूपमा विनीत भएर अपिल गर्न चाहन्छु’, महामन्त्री थापाले भने, ’कृपया अवरोध नगरिदिनुहोस् आउनुस् बसौं, संवाद र समीक्षा गरौँ, समाधान निकालौँ ।’
टिप्पणीहरू