एकीकृत समाजवादीको उम्मेदवार बन्न कम्तीमा सात गुण हुनैपर्ने
सत्तारुढ गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादीले प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड तय गरेको छ । आज बसेको ३५ औं सचिवालय बैठकले उम्मेदवारका लागि सात वटा मापदण्ड निर्धारण गरेको हो ।
जसअनुसार उम्मेदवार हुनका लागि आर्थिक र राजनैतिक आचरण राम्रो भएको, पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको, पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ रहेको हुनुपर्ने छ । त्यस्तै, पार्टीमा योगदान गरेको र विद्रोहमा सक्रिय भूमिका खेलेको, स्वच्छ छबि र सुशासनको पक्षपाती, कार्यक्षमता र सक्रियता तथा जनतामा स्थापित र लोकप्रियतालाई उम्मेदवारको मापदण्ड बनाइएको छ ।
त्यस्तै भदौ ९ गते पार्टीको स्थापना दिवस मनाउने पनि बैठकले निर्णय गरेको छ । गत वर्ष भदौ ९ गते निर्वाचन आयोगमा पार्टी दर्ता भएकाले एक वर्ष पुगेको उपलक्ष्यमा पुनर्गठन दिवस मनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । पार्टीको तीनै तहका कमिटी, जनवर्गीय संगठन र विभिन्न विभाग तथा तहहरूलाई रचनात्मक कार्यक्रम गरी दिवस मनाउन बैठकले आह्वान गरेको छ ।
टिप्पणीहरू