कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने प्रक्रिया सुरु भयो : प्रचण्ड

कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने प्रक्रिया सुरु भयो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभाजित नेपाली कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने प्रक्रिया सुरु भइसकेको बताउनुभएको छ । पार्टी मुख्यालय पेरिस डाँडामा आज बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वाम आन्दोलनलाई एकताबद्ध गरेर समाजवादी विचारलाई सफल बनाउनुपर्ने धारणा राख्नुभएको बताइएको छ ।

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईको पार्टीले माआवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचनमा जाने निर्णय गर्नुलाई उहाँले कम्युनिष्ट आन्दोलनलाई ध्रुवीकृत र एकीकृत गर्ने प्रक्रिया थालनी भएको रुपमा लिनुभएको अर्थ लगाइएको छ ।

‘नेकपा एकीकृत समाजवादीको हिजो बसेको सचिवालय बैठकले माओवादी केन्द्रसँग एकताका निम्ति संयोजन समिति बनाउने निर्णय गरिएको छ,’ प्रचण्डले भन्नुभयो, ‘यसबाट एकताको आधार र कम्युनिष्ट आन्दोलनलाई सबल बनाउने नयाँ आधार खडा भएको छ ।’

कम्युनिष्ट शक्तिको ध्रुवीकरण र एकीकरणको प्रक्रिया आगामी चुनावपछि नयाँ रुपमा अघि बढ्ने उहाँको विश्वास छ । ‘सबै शक्ति निर्वाचनमा लगाएर जाने भन्ने सहमति भएको छ । निर्वाचनपछि नयाँ ढंगले अघि बढ्ने सहमति भएको छ,’ प्रचण्डले उल्लेख गर्नुभयो ।

टिप्पणीहरू