नागरिकता विधेयक पारित हुने दिन एमाले अध्यक्ष झापातिर
राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेसँगै छलफल प्रारम्भ भएको हो ।
राष्ट्रपतिबाट सन्देशसहित फिर्ता विधेयक पुन: पेस भएपछि जारी प्रतिनिधिसभा बैठकको छलफलमा सत्ता र प्रतिपक्ष दलका सांसदहरु आरोप प्रत्यारोपमा उत्रेका छन् । सत्ता पक्षका सांसदले नागरिकता विधेयक फिर्ता पठाएर राष्ट्रपतिले लाखौं नागरिकलाई नागरिकताविहीन बनाएको आरोप लगाएका छन् । यस विषयमा राष्ट्रपति भण्डारीले दलीय चस्माले हेरेको समेत सत्तापक्षका सांसदहरुको दावी छ ।
एमालेका सांसदहरुले भने राष्ट्रपतिको कदमको समर्थन गर्दै दलीय सहमतिका आधारमा अघि बढ्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रपतिले विवेक पुर्याएर विधेयक फिर्ता पठाएकाले त्यसमाथि गम्भिरतापूर्वक छलफल गर्नुपर्ने उनीहरुको माग छ ।
यता, विधेयक पारित गर्ने कार्यसूची सार्वजनिक भएलगत्तै एमाले अध्यक्ष केपी ओली गृहजिल्ला झापातिर लाग्नुभएको छ । पार्टी कार्यक्रममा सहभागी हुन उहाँ झापा जानुभएको हो ।
टिप्पणीहरू