प्रहरी हेडक्वार्टरको पत्र मातहतका कार्यालय नपुग्दै हरायो

प्रहरी हेडक्वार्टरको पत्र मातहतका कार्यालय नपुग्दै हरायो

नेपाल प्रहरीमा कार्यरत कर्मचारीले प्रायः श्रीमान वा श्रीमतीलाई भेट्ने नयाँ नयाँ बहाना बनाउन थालेपछि उक्त प्रवृत्तिलाई रोक्न नयाँ जुक्ति निकालिएको सूचना नै हराएको छ । वैधानिक तवरले श्रीमान वा श्रीमती बेला बेलामा भेट्न खोज्नु न्यायोचित भएको तर ड्युटीमा रहेकालाई सधैं घरपायक खटाउन अप्ठेरो परेकाले नयाँ सरुवा नीति बनाइएको भन्दै जारी सूचनाबारे अधिकांश प्रहरी बेखबर भएका हुन् ।

प्रचलित ऐन, कानुन कार्यान्वयन क्रममा तल्लो तहका कार्यालयमा समेत महिला कर्मचारीको आवश्यकतालाई ध्यानमा राखेर विभिन्न मापदण्डको अधिनमा रही श्रीमान, श्रीमती दुबै जनाको एकै ठाउँ दरबन्दी बनाउन चाहनेसँग साउन १४ गते निवेदन माग गरिएको थियो । तोकिएको ढाँचामा दिइएको निवेदन साउन २९ गतेभित्र मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखामा पठाउन भनिएको थियो । तर, अधिकांश कार्यालयबाट प्रहरी कर्मचारीले पहिलेको सूचनाबारे बेखबर रहेको बताएपछि प्रधान कार्यालयले अस्ति अर्को सूचना जारी गरेको छ ।

मानवस्रोत विकास विभागले सबै इकाइमा पुनः जानकारीको लागि पठाएको चलानी नम्बर ९४५ सम्बन्धी पछिल्लो जानकारी पत्रमा गत साउन २४ र ३० गतेको पत्रबारे सबै कार्यालयलाई थाहा हुनुपर्ने किटानी गरिएको छ । तर, पत्रमा, ‘कतिपय प्रहरी कार्यालयमा कार्यरत सम्बन्धित प्रहरी कर्मचारीहरुले नै जानकारी नपाएको भन्ने गुनासो प्राप्त हुन आएको,’ व्यहोरा उल्लेख छ ।

प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेको हस्ताक्षर रहेको पत्रमा अगाडि लेखिएको छ, ‘विभिन्न प्रहरी कार्यालयबाट सोही समस्या दर्शाई यस शाखामा प्रतिवेदन गर्न आउनेहरुको संख्या बढ्दै गएको एवं नेपाल प्रहरी प्रधान कार्यालय, उजुरी छानबिन शाखामा समेत उजुरी÷निवेदन गर्ने गरेको पाइएको हुँदा सम्बन्धित सबै प्रहरी कार्यालयहरुले कार्यरत सबै प्रहरी कर्मचारीहरुलाई उल्लेखित परिपत्रहरुको बारेमा रोलकल वा ब्रिफिङ मार्फत् अनिवार्य रुपमा जानकारी गराई आवश्यक कार्यान्वयन गर्ने व्यवस्था मिलाउन हुन अनुरोध गरिएको छ ।’

प्रहरीमा कार्यरत कर्मचारीहरुमध्ये पछिल्लो अभिलेखअनुसार ५६ हजार ८६४ जना संगठनभित्रैका कर्मचारीबीच विवाहित छन् । अर्थात् त्यति कर्मचारीका श्रीमान र श्रीमती दुबै प्रहरी सेवामा छन् । तीमध्ये धेरैजसोले विभिन्न समस्या देखाई जिल्ला सदरमुकाम,शहरी क्षेत्र र लामो समयसम्म दरबन्दी भएको इकाइमै सरुवा माग्ने प्रवृत्ति बढेपछि प्रहरीले नयाँ रणनीति बनाएको हो ।‘श्रीमान वा श्रीमतीलाई एउटै जिल्ला, ईकाइमा पाँच वर्षभन्दा लामो अवधिससम्म नखटाइने, प्रहरी कर्मचारीको स्थायी ठेगाना भएको जिल्लामा सरुवा नगरिने उल्लेख छ । तोकिएको अन्य मापदण्डमा यसपटक बाहेक अब उप्रान्त शैक्षिक सत्र परिवर्तन हुनुभन्दा एक महिनाअगाडि मात्र सरुवा गरिने र श्रीमान श्रीमतीको दरबन्दी मिलान बढीमा दुई पटक मात्र हुने,’ भनिएको छ ।

श्रीमान, श्रीमतीको रुपमा कार्यरत कर्मचारीहरुको विवाह दर्ताको प्रमाणपत्र पेश गरेर सम्बन्धित कार्यालयको पत्रसहित पठाउन मातहतका सबै कार्यालयलाई जानकारी गराएकोमा अहिलेसम्म उक्त सर्कुलरबारे सम्बन्धित कर्मचारी बेखबर भएका हुन् ।

त्यस्ता कर्मचारीका श्रीमान वा श्रीमतीलाई एउटै जिल्ला, ईकाइमा पाँच वर्षभन्दा लामो अवधिससम्म नखटाइने,प्रहरी कर्मचारीको स्थायी ठेगाना भएको जिल्लामा सरुवा नगरिने भनिएको छ । श्रीमान श्रीमतीको दरबन्दी मिलान बढीमा दुई पटक मात्र हुने पनि भनिएको छ ।

टिप्पणीहरू