चुनावको निम्ति कर्मचारीलाई तयारी अवस्थामा राख्नु : निर्वाचन आयोग
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी बनाउन विभिन्न निर्णय गरेको छ । आगामी मंसिर ४ गते एकै चरणमा सम्पन्न हुने निर्वाचनलाई प्रभावकारी रुपमा सम्पन्न गराउन आयोगले पाँच बुँदे निर्णय गरेको बताइएको छ ।
आयोगको उक्त निर्णय कार्यान्वयनमा लैजान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आग्रह गरिएको छ । निर्वाचन प्रयोजनका लागि संघीय र प्रदेश निजामती वा स्थायी कर्मचारीलाई अनिवार्य रुपमा खटाउनुपर्ने भएकाले संस्थाको स्वीकृत संगठन संरचना तथा दरबन्दीअनुसारका कर्मचारी कार्यालयमा अभाव नहुने गरी आगामी भदौ २० गतेभित्र अनिवार्य रुपमा पदस्थापन गरी खटाउने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।
त्यस्तै, आयोगले काजमा खटिएका कर्मचारीलाई फिर्ता गर्न र कर्मचारीलाई चुनाव सम्पन्न नभएसम्म अन्यत्र कामकाज गर्न काजमा पठाउने र सरुवा नगर्ने व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।
जनशक्ति व्यवस्थापनका लागि भदौ २० गते अगावै संघ, प्रदेश र पालिकामा काजमा खटिएका कर्मचारीलाई अन्यत्र खटाइएको भए पदाधिकार रहेकै कार्यालयमा काज फिर्ता गर्ने वा त्यस्तो ठाउँमा स्वीकृत दरबन्दीको पद र तहअनुसारको कर्मचारी सरुवा÷पदस्थापन गरी अनिवार्य रूपमा पदपूर्ति गर्ने व्यवस्था गर्न आग्रह गरिएको छ ।
निर्वाचनमा प्रदेश सरकार, स्थानीय तह वा नेपाल सरकारको स्वामित्वका संघ संस्था, निकायका कर्मचारी आवश्यकतानुसार परिचालन गर्नुपर्ने भएकाले तोकिएको ढाँचामा कर्मचारीको यथार्थ विवरण अद्यावधिक गर्न र सम्बन्धित प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयले माग गरेको बेलामा तुरुन्त उपलब्ध गराउन पनि भनिएको छ ।
टिप्पणीहरू