बेलायतमा गोर्खाली ठगेर सुटुक्क नेपालतिर
भूतपूर्व गोर्खाका वयस्क सन्तानलाई आवासीय भीसा मिलाइदिने भन्दै करोडौं ठगेका सूर्य नेम्वाङ गिरफ्तारीको डरले नेपाल आइपुगेका छन् । श्रोतका अनुसार बेलायतमा उनको ठगीविरुद्ध पीडितहरूले प्रहरीमा उजुरीसहित अदालतको ढोका ढक्ढक्याउने तयारी गरेपछि भागेर आएका हुन् ।
नेम्वाङले ठगेको यथेष्ट प्रमाण जुटाएर पीडितहरू प्रहरी र अदालतमा एकै साथ जान लागेको सुईंको पाएपछि नेम्वाङले बेलायत छाडेको एक पीडितले टेलिफोनमा जनआस्थालाई बताए । नेम्वाङले आवासीय भीसा मिलाइदिने भन्दै एकजना गोर्खा सन्तानसंग १५ लाख रूपैयाँसम्म असुलेको प्रमाण आफूसँग रहेको पीडितको दाबी छ ।
नेम्वाङले केस मिलाइदिन्छु भन्दै भूतपूर्व गोर्खाबाट जनही ५ हजार पाउण्ड (झण्डै ७ लाख ५० हजार रूपैयाँ) सम्म असुलेको बताइन्छ । उनले करिब ४०० देखि ५ सय जनालाई ठगेको हुन सक्ने पीडितले बताएका छन् । नेम्वाङ र उनकी श्रीमती घर घर गएर उक्त पैसा उठाउने गर्थे । नेम्वाङ दम्पतीले होम अफिस, अपिल गर्ने अदालत र ल फर्मलाई तिर्ने फि बाहेकको पैसा उठाएका हुन् ।
वृद्धवृद्धालाई ठगेर नेम्वाङको जीवनशैली एकाएक बदलिएको थियो । पाँचथरमा लिफ्टसहितको ५ तले घर बनाइरहेका नेम्वाङले लण्डनमा पनि फेरी फेरी नयाँ कार चढ्ने गरेको सहकर्मी बताउँछन् । महँगो मदिरा र सुरा–सुन्दरीमा उनको केही हिस्सा सकिने गरेको बताइन्छ । त्यसो त श्रीमती गन्न पनि औंला भाँच्नुपर्ने गोर्खा सत्याग्रह अभियानका एक सदस्यले गफै गफमा बताएका थिए ।
नेम्वाङ आफैं भूतपूर्व ब्रिटिश आर्मी हुन् । आर्मी सेवामै रहँदा पनि ९० को दशकतिर आफ्ना समकालीनसँग एक लाख २० हजार पाउण्ड ठगेको आरोप छ । नेम्वाङले केस मिलाइदिने आश्वासनमा केही महिला पीडितलाई यौन शोषणसमेत गरेको गम्भीर आक्षेप लगाइएको छ । कुनै बेला कांग्रेसनिकट नेपाली जनसम्पर्क समिति बेलायतमा सक्रिय नेम्वाङ सोझा भूतपूर्व गोर्खाहरूबाट पैसा असुल्न थालेपछि राजनीतिबाट ओझेल परेका थिए ।
नेम्वाङले भने आफ्नो प्रगति देख्न नसकेर विभिन्न आरोप लगाइएको जिकिर गरेका छन् । उनले फेसबुक पेजमार्फत आफ्नाविरुद्ध जति पनि समाचार आएका छन् ती भ्रामक भएको दाबी गर्दै छन् ।
टिप्पणीहरू