लाखापाखा लागेका प्रहरी हाकिमको बहालवालालाई जुममा निम्तो
नेपाल प्रहरीका अवकाशप्राप्त अधिकारीहरुले बहालरत महानिरीक्षकलगायतसँग अन्तरक्रिया गर्ने आफ्ना कुरा राख्ने भएका छन् । उनीहरुले भोलि साँझ ६ बजे यस्तो भेटघाट राखेका हुन् । एक घण्टाको उक्त कार्यक्रम भर्चुअल विधिबाट सम्पन्न हुने आयोजक पक्षले बताएको छ ।
“हामी हिजो वर्दीका प्रहरी थियौँ, आज विना वर्दीका भयौँ” भन्दै आयोजना गर्न लागिएको भर्चुअल भेटघाटमा अवकाशप्राप्तहरुको अवस्थाबारे बहालरत आइजीपीलाई जानकारी गराउने भनिएको छ । महानिरीक्षक धिरजप्रताप सिंहलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको कार्यक्रममा पूर्व अतिरिक्त महानिरीक्षकद्वय रुपसागर मोक्तान र रमेशकुमार श्रेष्ठले अवकाशप्राप्तको तर्फबाट धारणा राख्नेछन् । मोक्तान र श्रेष्ठ पूर्व प्रहरी संगठन र पूर्व प्रहरी कर्मचारी परिषद्का अध्यक्ष हुन् ।
कार्यक्रममा पूर्व प्रहरी वरिष्ठ उपरीक्षक गुप्तबहादुर श्रेष्ठ र पूर्व प्रहरी नायव उपरीक्षक शिवजी श्रेष्ठलाई सहजकर्ता राखिएको बताइएको छ । महानिरीक्षक सिंहले धारणा राखेपछि पूर्व प्रहरी महानिरीक्षक ध्रुुवबहादुर प्रधानले कार्यक्रम समापन गर्नेछन् ।
सेवाबाट अवकाश प्राप्त गरेपछि पनि आफूहरुको नाता नेपाल प्रहरीसँगै रहेकाले मातृसंस्थाबाट केही अपेक्षा राखेको आयोजक संस्थाका पदाधिकारीहरुको भनाइ छ ।
टिप्पणीहरू