ताप्लेजुङमा पनि सल्बलाए मीटरब्याजी
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी, ताप्लेजुङले मीटरब्याजीहरुलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।
कमिटीले आज विज्ञप्ति जारी गर्दै मीटरब्याज अपराधमा संलग्नलाई कानूनी कारबाहीको दायरामा ल्याउन र यस्तो अपराध न्यूनिकरण गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
सोझासीधा जनतालाई चर्को व्याजदरमा कर्जा दिने,दुई चार दिनका लागि कर्जा दिएबापत ठूलो रकम ऋणीबाट असुल्नेजस्ता आर्थिक अपराधका घटना बढ्न थालेपछि समितिले सतर्क रहन सुसूचित गराएको छ ।
समितिले भनेको छ,‘यस मीटरब्याज प्रणालीअनुसार ऋणीलाई ऋण प्रवाह गर्दा केही रकम अग्रिम कट्टी पूरै स्वीकृत ऋणको ब्याज असुल्ने, प्रचलित दररेटभन्दा चर्को ब्याजदरमा कर्जा दिने,दुई चार दिनको लागि केही रकम कर्जा दिएबापत ठूलो रकम असुल्नेजस्ता आर्थिक अपराधका घटनाहरु व्यापक बाहिर आइरहेको सन्दर्भमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’
यसले परिवारमा विखण्डन आउने, आफन्त र परिवारजनमा विलाप ल्याउने,गाउँ र समाजबाट पलायन हुनुपर्ने,घरबारविहिन हुनेजस्ता विकराल समस्या निम्तिने समितिको ठहर छ ।
पछिल्लो समय नवलपरासी,दाङ, कपिलवस्तु,सल्यान,सर्लाही, कैलालीलगायतका विभिन्न जिल्ला र गाउँगाउँमा मीटरब्याजले भयावह रुप लिएको छ ।

टिप्पणीहरू